• २९ वैशाख २०८३, मङ्गलबार

विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध

blog

रन जोडेपछि उपकप्तान दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेल । तस्बिर : क्यान

काठमाडौँ, वैशाख २९ गते । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो । 

वर्षाले प्रभावित खेलमा जितका लागि दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ३९ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो । पहिलो इनिङ्स सकिएसँगै पानी परेपछि ओभर घटाएर नेपालले ३९ ओभरमा दुई सय २१ रनको लक्ष्य पाएको थियो । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले अर्धशतकीय इनिङ्स खेल्नुभयो । गुल्शनले अविजित सर्वाधिक ६१ रन बनाउनुभयो । उहाँले ३५ बलमा दुई चौका र पाँच छक्का हान्नुभयो । 

दीपेन्द्रले ५५ रन बनाउनुभयो । अर्धशतक बनाउने क्रममा उहाँले ४९ बलमा पाँच चौका र एक छक्का हान्नुभयो । यस्तै कप्तान रोहितकुमार पौडेलले ३२, ओपनर आशिफ शेखले २१, करण केसीले १८, भेट्रान विनोद भण्डारीले १० र नन्दन यादवले अविजित आठ रन बनाउनुभयो । 

बलिङमा स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिनुभयो । यस्तै मार्क वाटले दुई दुई तथा ज्याक जार्भिस र ओलिभर डेभिडसनले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभरमा आठ विकेटको  क्षतिमा  दुई सय ४३ रन बनाएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतक बनाउनुभयो । ६२ रनको सामना गर्दा उहाँले १२ चौका र दुई छक्काको मद्दतमा ७५ रन बनाउनुभएको हो । 

त्यसैगरी अर्का ओपनर फिनले म्याकक्रियाथले ६२ बल खेल्दै ३५ रन बनाउनुभयो । पाँचौँ क्रममा ब्याटिङ गर्नुभएका मिचेल इङ्ग्लिसले नटआउट ३४ रन बनाउनुभयो ।

२० ओभरसम्म विकेटबिहीन बनेको नेपालका लागि लेग स्पिन सन्दीप लामिछानेले चार विकेट दिलाउनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दा एक मेडनसहित ४१ रन खर्चिएर चार विकेट हात पर्नुभएको हो । 

यस्तै करण केसीले आठ ओभर बलिङ गर्दा ५१ रन खर्चिएर दुई विकेट हात पर्नुभयो भने आठ ओभर बलिङ गर्दा ३३ रन खर्चिएर  नन्दन यादवले दुई विकेट लिनुभयो ।

नेपालका लागि १० ओभर बलिङ गर्नुभएका ललित राजवंशी ३३ रन खर्चिएर विकेटबिहीन बन्नुभयो । दिपेन्द्रसिंह ऐरी, गुल्सन झा र  रोहित पौडेलसमेत विकेटबिहीन बन्नुभयो ।

जितसँगै दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २९ खेलबाट ३६ अङ्क बनायो । पराजित नेपाल २५ खेलबाट १८ अङ्क जोड्दै सातौँ स्थानमा छ । यस सिरिजको अर्को टोली अमेरिका २४ खेलबाट ३६ अङ्क जोड्दै शीर्षस्थानमा छ ।

आठ देश सहभागी लिग–२ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई मात्र पछि पारेको छ । आठौँ स्थानमा रहेको युएईको २४ खेलबाट १४ अङ्क छ । अब नेपालले जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ ।