• ३० वैशाख २०८३, बुधबार

हाम्रो पात्रो रेमिटको ‘सेन्ड लोकल, सपोर्ट लोकल’ अभियान सुरु

blog

काठमाडौँ, वैशाख ३० गते । नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म हाम्रो पात्रोले आफ्नो रेमिट्यान्स सेवा ‘हाम्रो पात्रो रेमिट’ मार्फत विशेष सामाजिक उत्तरदायित्व कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीले “सेन्ड लोकल, सपोर्ट लोकल” भन्ने मूल नाराका साथ अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्कको निश्चित अंश देशभरका निम्न वर्गीय विद्यार्थीको सहयोगमा खर्च गर्ने अभियान थालेको हो ।

यस अभियानको पहिलो चरण अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगा चोक गढी नगरपालिका स्थित श्री बाङबा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बिच विद्यालयका विद्यार्थीलाई आवश्यक पर्ने स्कुल ब्याग, पेन्सिल र कापीहरू प्रदान गरियो ।

उक्त वितरण कार्यक्रमलाई विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले उत्साहका साथ स्वागत गरेका थिए ।

सहयोग ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक निर्मला श्रेष्ठले यस उदार पहलका लागि कृतज्ञता व्यक्त गर्नुभयो । 

उहाँले यस्ता अभियानले टाढा रहेर पनि कसैले विद्यार्थीको भविष्यप्रति चिन्ता र माया राख्छ भन्ने अनुभूति गराएको बताउनुभयो । यस्ता प्रेरणादायी कार्यले साना बालमस्तिष्कमा आशा र उत्साह थपेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा राख्नुभयो ।

हाम्रो पात्रो रेमिटले यस प्रयासबाट विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक वातावरणमा प्रत्यक्ष सुधार आउने विश्वास लिएको छ । 

हाम्रो पात्रोको फिनटेक अपरेसनका निर्देशक सुदिना गौतमले प्रयोगकर्ताले गर्ने हरेक कारोबारले उनीहरूको परिवारलाई मात्र नभई समुदायलाई समेत फाइदा पुर्‍याउने बताउनुभयो । 

यो अभियान प्रयोगकर्ताहरूप्रति धन्यवाद व्यक्त गर्ने माध्यम भएको भन्दै उहाँले आगामी दिनमा देशका अन्य दुर्गम क्षेत्रका विद्यालयहरूमा समेत यसलाई विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिनुभयो ।

हाम्रो पात्रो रेमिटले हाल अमेरिका र अस्ट्रेलियाबाट सरल, सुरक्षित र द्रुत डिजिटल प्रविधिमार्फत नेपालमा रकम पठाउने सुविधा प्रदान गर्दै आइरहेको छ ।