शेरबहादुर सार्की
बाजुरा, वैशाख ३० गते । मानव विकास सूचकाङ्कका आधारमा बाजुरा ७७औँ स्थानमा पर्छ । जिल्लामा गरिबी, अशिक्षा तथा सुविधा सम्पन्न स्वास्थ्य संस्थाको अझै अभाव छ । उर्वर भूमि भए पनि त्यसको उचित उपयोगका लागि प्रभावकारी पहल हुन नसक्दा पछिल्लो समय यहाँका स्थानीय आफ्नै जन्मभूमि र घरआँगन छोडेर परदेशिन बाध्य भएका छन् ।
बुढीनन्दा नगरपालिका–७ का स्थानीय मानबहादुर लुहारले गरिबीकै कारण जन्मभूमि छोड्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जन्मभूमि सबैलाई प्यारो हुन्छ । घरमै बसेर खान र रमाउन सबैको चाहना हुन्छ । तर गरिबीले न घर बस्न दिन्छ, न त जन्मभूमि छोडेर परदेशिनबाट रोक्छ ।”
पेट पाल्नकै लागि लामो समयदेखि घरपरिवार र जन्मभूमिबाट टाढा बस्नुपरेको उहाँको भनाइ छ ।
यो समस्या उहाँको मात्र होइन । हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका पालिकाका स्थानीयको अवस्था पनि उस्तै छ ।
जमिन भए पनि सिँचाइको व्यवस्था छैन । उत्पादन भए पनि समयमै बजार पाइँदैन । माग भएको बेला उत्पादन हुँदैन । यही समस्याका कारण यहाँका स्थानीय गाउँबस्ती छोडेर बाहिरिन थालेका हुन् ।
पहिला दैनिक उपभोग्य सामग्री खरिद गर्न कैलालीको हाटसम्म जानुपर्ने अवस्था थियो । त्यहाँ पुग्न स्थानीयलाई एक महिना समय लाग्थ्यो । त्यसपछि पनि भेडाबाख्राको सहायताले अछामको साँफेबगरबाट दुई–चार दिन लगाएर दैनिक उपभोग्य सामग्री ल्याउनुपर्ने अवस्था थियो ।
अहिले भने दुर्गम गाउँबस्तीसमेत सडक सञ्जालसँग जोडिएका छन् । दैनिक उपभोग्य सामग्री गाउँमै पुग्न थालेका छन् । तर पनि पछिल्लो समय गाउँबस्ती खाली हुँदै गएका छन् ।
घरमा बसोवास गर्ने मानिस नभएपछि घरहरू भत्किन थालेका छन् । सुन फलाउन सकिने उर्वर जमिन पनि बाँझो हुँदै गएको छ ।
स्थानीय सरकारले युवालाई गाउँमै बसेर केही गर्न सक्ने वातावरण बनाउन नसकेको स्थानीयको गुनासो छ । आवश्यक अवसर र सुविधा उपलब्ध भए युवाले गाउँमै बसेर काम गर्न सक्ने उनीहरूको भनाइ छ ।
जनप्रतिनिधिका अनुसार बढी आम्दानी र सुविधाको खोजीमा पछिल्लो समय युवाहरू गाउँ छोडेर बाहिर जान थालेका छन् ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा २ लाख ३० हजार ३७ हेक्टर जमिन रहेकामा २२ हजार हेक्टर मात्र खेतीयोग्य छ । उहाँले भन्नुभयो, “त्यसमध्ये ५ हजार २ सय ३५ हेक्टरमा मात्र वर्षभरि सिँचाइ सम्भव छ । बाँकी अधिकांश जमिनमा सिँचाइ सुविधा छैन ।”
उहाँका अनुसार उर्वर जमिन भए पनि पर्याप्त सिँचाइको अभाव र खेतीप्रति युवाको घट्दो आकर्षणका कारण धेरै जमिन बाँझो रहने गरेको छ ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले युवाका लागि गाउँमै बसेर रोजगारी गर्न सकिने वातावरण सिर्जना गर्न प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा बेरोजगार युवा धेरै छन्, आर्थिक अवस्था कमजोर छ । स्थानीय सरकारले मात्र यो समस्या समाधान गर्न सक्दैन । नेपाल सरकारले पनि युवालाई गाउँमै बस्ने वातावरण बनाउन आवश्यक छ ।”