• ३० वैशाख २०८३, बुधबार

मनसुन जोखिमबिच श्रीलङ्कामा डेङ्गु बढ्दै : स्वास्थ्य अधिकारी

blog

कोलम्बो, वैशाख ३० गते । श्रीलङ्कामा चालु वर्षको मे महिनासम्म २७ हजार ७५४ डेङ्गुका घटना दर्ता भएको जनाउँदै १४ जनाको डेङ्गु संकमणका कारण मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । 

उनीहरुका अनुसार श्रीलङ्काका २५ वटा जिल्लामा सङ्क्रमण फैलिएको छ । राष्ट्रिय डेङ्गु नियन्त्रण एकाईले सन् २०२५ को तुलनामा यस वर्ष हालसम्म पुष्टि भएका सङ्क्रमितको सङ्ख्या बढेको बताएको छ । सबैभन्दा धेरै सङ्क्रमण पश्चिमी प्रान्तबाट रिपोर्ट गरिएको छ भने मातारा, गाले, रत्नपुरा, कालुतारा र क्यान्डीमा पनि सन् २०२६ को पहिलो चार महिनामा डेङ्गु संक्रमणको उच्च रेकर्ड छ ।

राष्ट्रिय डेङ्गु नियन्त्रण एकाईका सामुदायिक चिकित्सा विशेषज्ञ प्रिसिला समरवीराले स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मनसुनको वर्षा सुरु हुँदा सङ्क्रमण अझै बढ्न सक्ने बताउनुभएको छ । विद्यालय, कार्यस्थल, धार्मिक संस्था र सरकारी तथा निजी संस्थामा डेङ्गुका लामखुट्टेको प्रजनन बढेको अधिकारीहरूले बताएका छन् । 

डेङ्गु रोकथाममा कडा सार्वजनिक सहयोगको आवश्यकतालाई जोड दिँदै फोहोरको उचित व्यवस्थापनको अभावले संक्रमण दिनानु दिन बढीेको जनाइएको छ । श्रीलङ्काका नागरिकलाई ज्वरोसँगै मांसपेशी दुख्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता कम्तिमा दुई वटा लक्षण देखा परेमा ढिलाइ नगरी चिकित्सा सहायता लिन सल्लाह दिइएको जनाइएको छ । रासस/सिन्ह्वा