• ३० वैशाख २०८३, बुधबार

कोहलपुरमा ‘स्कुल टु ओलम्पिक’

blog

नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई मायाको चिनो प्रदान गर्नुहुँदै नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, वैशाख ३० गते ।
बाँकेको कोहलपुरमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल एपिएफ स्कुलको हलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले शिक्षा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर आफूले काम गरिरहेको बताउनुभएको छ । आचार्यले आगामी वर्षदेखि ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम हरेक स्कुलमा पुग्ने वातावरण बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

प्रस्तावना दिनुहोस्, हरेक स्कुलले विद्यार्थीमाझ ओलम्पियनका अनुभव साटासाट गर्ने वातावरण तयार गर्न आवश्यक बजेटसहित कार्यक्रम बनाउँछौँ । नगर प्रमुख आचार्यले भन्नुभयो, विद्यार्थीलाई खेलकुदसँग जोड्ने हरेक खेललाई सम्बोधन गर्न तयार छु, अब एउटा स्कुलमा मात्र हैन, कोहलपुर क्षेत्रका सम्पूर्ण विद्यालय लाभान्वित हुने गरी स्कुल टु ओलम्पिकलाई साझा कार्यक्रमका रूपमा विकास गर्नुपर्ने छ ।

नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्टले नगर प्रमुख आचार्यलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । अध्यक्ष विष्ट दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण पदक जित्ने नेपालका एकमात्र खेलाडी हुनुहुन्छ । उहाँले एसियाली खेलकुदमा दुई कास्य पदक जित्नुभएको छ भने छनोट चरण पार गरेर ओलम्पिकमा भाग लिने दोस्रो नेपाली खेलाडी हुनुहुन्छ ।

हालै उहाँ वल्ड ओलम्पियन एसोसियसनको कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ । ओलम्पियन विष्टले स्कुले विद्यार्थीलाई ओलम्पिकसम्म जाने सपना, आशा र विश्वास दिलाउन आफूहरूले देशव्यापी अभियान चलाएको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले स्कुल टु ओलम्पिक कार्यक्रम निकै सदुपयोगी भएको बताउनुभयो । एपिएफ स्कुलका विद्यार्थीलाई ओलम्पियन जुडोकी देवु थापा र उसुकी साग स्वर्ण विजेता जुनु राईले सेल्फ डिफेन्ससम्बन्धी ज्ञान र कला सिकाउनुभएको थियो ।

ओलम्पियन सन्तोषी श्रेष्ठले आफ्नो यात्रा, सङ्घर्ष र सफलताका बारे सुनाउँदा विद्यार्थी निकै उत्साहित देखिएका थिए । ओलम्पियन देवुले पनि विद्यार्थीलाई अभिप्रेरित गर्नुभएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीले विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो ।

यसअघि नेपालगन्जमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा विभिन्न स्कुलका डेढ सय विद्यार्थीले ओलम्पियनसँग अन्तरक्रिया गरेका थिए । वल्ड रनिङको साझा निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)बाट मान्यताप्राप्त नेपालगन्ज १० म्युजिक नाइट रनलाई स्कुल टु ओलम्पिकसँग जोडेर नेपालगन्जमा भव्य कार्यक्रम गरिएको थियो ।

नेपालगन्जमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल र पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापा समेतले आफ्ना अनुभव साट्नुभएको थियो । रेस नेपाल र क्रियटिभ गन्ज मिडियाले यस कार्यक्रमको संयोजन गरेका थिए ।