अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ३० गते । गल्याङ नगरपालिकाले नगरभित्रका १६७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाले नगरभित्र सञ्चालित क्याम्पस तथा कक्षा ११–१२ मा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११–१२ का २० प्रतिशत तथा क्याम्पस तहका १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्य, गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने, सामुदायिक विद्यालय तथा क्याम्पसप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउने, शिक्षामा समान पहुँच सुनिश्चित गर्ने तथा सक्षम र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।
नगरप्रमुख गुरुप्रसाद भट्टराईले आफू निर्वाचित भएपछि गरिएको पहिलो निर्णयअनुसार कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
नगरपालिकाले सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई लक्षित गरी वार्षिक छात्रवृत्ति वितरण गरेको हो ।
कक्षा ११–१२ तथा क्याम्पस तहका विद्यार्थीलाई वडा, विद्यालय र क्याम्पसको सिफारिसका आधारमा वार्षिक शुल्क बराबरको छात्रवृत्ति उपलब्ध गराइएको नगरप्रमुख भट्टराईले बताउनुभयो । छात्रवृत्ति वितरणपछि आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित हुनुपर्ने अवस्था केही हदसम्म कम भएको स्थानीयले बताएका छन् ।