• ३० वैशाख २०८३, बुधबार

दोभान र हुल्चुक जोड्न बेलिब्रिज

blog

सुलीकोट समाचारदाता 

सुलीकोट, वैशाख ३० गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको दोभान र हुल्चुक जोड्ने गरी बुढीगण्डकी नदीमाथि बेलिबिज्र निर्माणको काम भइरहेको छ । 

दोभानखोला जलविद्युत् आयोजनाले बुढीगण्डकी नदीमाथि बेलिबिज्र निर्माण गर्न थालेको हो । आयोजनाले आफ्नो काम सहज बनाउनुका साथै स्थानीयवासीलाई आवतजावतमा सुविधा पुग्ने उद्देश्यले पुल निर्माण थालेको धार्चे–१, हुल्चुकका वडाध्यक्ष रामसिंह गुरुङले बताउनुभयो । 

बेलिबिज्र निर्माणपछि हुल्चुकमा पहिलो पटक सवारीसाधन सहजै पुग्ने अपेक्षा गरिएको छ । धार्चे गाउँपालिकाका अन्य सबै वडामा सडक पुगे पनि पुल अभावका कारण हुल्चुकमा अहिलेसम्म सवारीसाधन पुग्न सकेको छैन । 

यातायात सुविधा नहुँदा हुल्चुकवासीले दैनिक उपभोग्य वस्तु महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । दोभानसम्म बजारकै मूल्यमा सामान पुगे पनि त्यहाँबाट हुल्चुक पु¥याउन खच्चडमार्फत प्रतिकेजी पाँच रुपियाँसम्म ढुवानी खर्च तिर्नु परेको स्थानीयले बताएका छन् । पुल सञ्चालनमा आएपछि भने बजार मूल्यमा नै खाद्यान्न तथा अन्य सामान सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार पुल निर्माणले जलविद्युत् आयोजनाको कामलाई पनि गति दिने छ भने स्थानीय जनताको दैनिकीमा प्रत्यक्ष राहत पुग्ने छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत करिब पाँच करोड रुपियाँ लागतमा निर्माण भइरहेको छ ।