कोकिला ढकाल
इलाम, वैशाख ३१ गते । विदेशी मुद्रा आर्जनमा एक हिस्सा ओगटेको अलैंची खेतीमा इलामका युवाहरु यतिबेला उत्साहित भएका छन् । यसवर्ष सिजनको सुुरु देखि नै प्रतिमन ९० देखि एक लाख रुपियाँमा कारोबार भएको अलैंचीबाट राम्रो आम्दानी हुुन थालेपछि युुवाहरु अलैंची खेती विस्तारमा लागेका हुन् ।
अलैंचीका लागि अहिले विरुवा रोप्ने समय पनि भएको छ । जेठ, असार, साउन महिना अलैंची रोप्न उत्तम समय मानिन्छ । यही मौका छोपेर अलैंचीको विरुवा लगाउने मात्र होइन, नयाँ विरुवा बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको किसानहरु बताउँछन् ।
इलामको माइजोगमाई –५ का किसान महेश सापकोटाले यो सिजनमा अलैंचीको विरुवा बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको बताउनुु हुन्छ । गएको वर्ष २२ लाख रुपियाँ मूल्य बराबरको अलैंचीको विरुवा बिक्री गर्नुभएका सापकोटाले यो वर्ष पनि डेढ लाख विरुवा बिक्रीको तयारीमा रहेको बताउनुुभयो ।
७० रोपनी जमिनमा अलैंची खेती गर्दै आउनुुभएका सापकोटाले यो वर्ष भार्लाङ जातको अलैंची खोटाङ, पाँचथर, ताप्लेजुुङ सम्म पठाइएको र पश्चिमी जिल्लाहरुबाट पनि माग आइरहेको बताउनुुभयो । ‘रोग लागेको छैन, बाहिरी जिल्लाबाट माग आएको छ ।
गएको वर्ष र यो वर्ष यहाँको उत्पादन पनि निकै राम्रो भयो, सापकोटाले भन्नुुभयो ‘आउँदो वर्ष ५० मन अलैंची उत्पादन हुन्छ कि भन्ने अनुमान गरेको छुु ।’ गतवर्ष १४ मन अलैंची बिक्री गर्नुभएका सापकोटाले यो वर्ष २५ मन अलैंची बिक्री गरेको बताउनुुभयो ।
‘आम्दानीको संम्भावना गाउँमा नभएको होइन, तर काम गर्ने जनशक्ति, त्यो जनशक्तिमा जोस र उत्साह चाँहि हराएको छ’ सापकोटा भन्नुहुन्छ ‘युवाहरुलाई हामी सबै मिलेर उत्साहित ग¥यौं र आम्दानी तथा स्वरोजगारको अवसर देखायौं भने विदेश जानुु पर्ने बाध्यता हटेर जान्छ ।’
युवा किसान सापकोटा माइजोगमाईका एक उदारण हुनुुहुुन्छ । त्यस्तै, सन्दकपुर–२ का अर्का युवा लिला दाहालले पनि अहिले लोभलाग्दो अलैंची बगान बनाउनुुभएको छ । ४० रोपनी जमिनमा अलैंची लगाउनुु भएका दाहालले गएको सिजनमा आठ मन अलैंची बिक्री गर्नुभयो ।
आउँदो वर्ष नयाँ बगानबाट समेत उत्पादन हुँदा २० मन अलैंची पुुग्ने अनुमान रहेको दाहाल बताउनुुहुुन्छ । अघिल्लो वर्ष वर्षासँगै माइमझुवा क्षेत्रमा गएको पहिरोले अधिकांश जमिन धाँजा फाटेपछि अन्य खेतीको विकल्प यहाँ नभएको दाहालको भनाइ छ ।
‘यहाँको जमिन धाँजा फाटेर धेरै घरहरु नै जोखिममा छन् । घरै सार्नुपर्ने बाध्यता छ । धाँजा फाटेको जमिनमा अरु खेतीबाली लगाउन पनि सम्भव छैन । अलैंची नै यहाँको विकल्प छ । अलैंची लगाउने र छोडिदिने यहाँको विकल्प हो’ दाहालले भन्नुुभयो ‘अहिले प्रायः धेरै किसानले अलैंची लगाउनुु भएको छ ।’
अलैंची लगाउनुु पर्ने बाध्यतासँगै यसबाट भएको आम्दानीले किसानमा भने उत्साह थप्ने गरेको छ । सोही गाउँकी किसान सुकमाया राईलाई अब अलैंची बेचेर राम्रो घर बनाउने सपना छ । करिब आठ–दश वर्षअघि व्याज मराउनीमा जग्गा लिएर लगाएको अलैंची खेतीबाट सुकमायाको परिवारले २८ रोपनी जमिन जोडि सकेको छ ।
‘पहिला ब्याज मराउनीमा जग्गा लियौं, त्यो जग्गामा लगाएको अलैंचीले यही ठाउँमा २८ रोपनी जग्गा किन्न सफल भयौं । अहिले आफ्नो र ब्याज मराउनी गरेर झण्डै ४० रोपनीमा अलैंची लगाएका छौं ।’ सुकमायाले भन्नुुभयो, ‘यो वर्ष १८ मन जति अलैंची भयो, त्यसैबाट जग्गा किनेका हौं, अब राम्रो घर बनाउने सपना छ ।’
पछिल्लो समय सुकमायाको मात्र होइन, याङ्मा गाउँकै एउटा परिचय ‘अलैंची गाउँ’ भन्दा फरक नपर्ने छ, यो गाउँ । हरेक घरका छिमेकी भनेकै अलैंचीका बोट हुन कि भन्ने कल्पना गर्न सकिन्छ यहाँ । आँखाले देखुन्जेल कान्लैपिच्छे अलैंची, आँगनको डिलसम्म अलैंची छ गाउँमा ।
त्यसो त गाउँमा उत्पादन बढेसँगै पछिल्लो समयमा अलैंचीको निर्यात पनि बढेको पाइएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को नौं महिना अर्थात गएको साउनदेखि चैत मसान्तसम्ममा झापाको मेची भन्सार कार्यालय हुँदै दश अर्ब बढीको अलैची निर्यात भएको छ ।
सो अवधिमा दश अर्ब ७० करोड सात लाख १८ हजार रुपियाँ मूल्यको अलैंची निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्क छ । यो अवधिमा ५२ लाख ९५ हजार २५० किलो अलैंची निर्यात भएको जनाइएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधि अर्थात २०८१–८२ को साउनदेखि चैत महिनाको निकासीको तुलनामा चालु आर्थिक वर्षमा ४१ दशमलव ५८ प्रतिशत बढीले अलैंची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।
अलैंचीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरुले अलैंची खेती पनि विस्तार गरिरहेका छन् । देशको १४ हजार ३८३ दशमलव पाँच हेक्टर जमिनमा अलैची खेती विस्तार रहेको अलैंैची विकास केन्द्र इलामले जनाएको छ ।