• ३० वैशाख २०८३, बुधबार

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

blog

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौलासहित ।

फडिन्द्र अधिकारी 

लेखनाथ, वैशाख ३० गते । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनले पुण्यप्रसाद सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । वैशाख २७ गते पोखरामा सुरु भएको महाधिवेशन बुधबार नयाँ नेतृत्व चुनेर सकिएको हो । 

अध्यक्षमा सिटौलाले एक हजार ३० मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी हरिशरण केसी चार सय ६४ मतमा सिमित बन्नुभयो । तीन वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐनकुमार साई र केदारप्रसाद पौडेल चुनिुनुभयो । प्रजापतिले सर्वाधिक आठ सय २६ मत, साईले सात सय ४९ मत र केदारप्रसाद पौडेलले पाँच सय ७९ मत पाउनुभयो ।

वरिष्ठ उपाध्यक्षमा छ जना मैदानमा हुनुहुन्थ्यो । संस्थाको महासचिवमा डेकनाथ गौतम (६९८) मतसहित चुनिनु भयो । कोषाध्यक्षमा राजेन्द्र आचार्य (७१६ मत) निर्वाचित हुँदा सात उपाध्यक्षमा चन्द्र ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी चुनिनुभएको छ । 

उपाध्यक्षमा १३ जनाको उम्मेदवारी परेको थियो । यस्तै उपमहासचिवत्रयमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम थापा, सचिवत्रयमा उमेश केसी, चेतप्रसाद गौतम र टेकप्रसाद बस्याल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा राजेन्द्र आचार्य र सहकोषाध्यक्षमा शोभाखर पौडेल चुनिनुभएको । 

महासङ्घको ८६ पदका लागि एक हजार छ सय ६३ प्रतिनिधिले मतदान गरेका थिए । नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै अहिलेको अवस्थामा यातायात व्यवसायीका समस्या सुल्झाउन लाग्ने वाचा गर्नुभएको छ ।