गोरखापत्र समाचारदाता
वीरगञ्ज, वैशाख ३० गते । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीको दैलोमा आउने सेवाग्राहीलाई निराश भएर फर्किन नदिन निर्देशन दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सिम्रौनगढ परिसरमा नव–निर्मित ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र’ भवन उद्घाटन गर्दै उहाँले नागरिकमैत्री सेवा नै नेपाल प्रहरीको मुख्य प्राथमिकता भएको बताउनुभयो ।
आईजिपी कार्कीले भन्नुभयो ‘‘प्रहरीको प्रभावकारिता केवल भौतिक संरचनाले नभई प्रहरीको व्यवहार, बोलीवचन र सेवाशैलीबाट मापन हुन्छ । यसतर्फ सबै प्रहरी कर्मचारीहरूलो ध्यान दिनुहोला ।’’
उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र न्याय सुनिश्चित गर्न नव–निर्मित सेवा केन्द्रहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्र सङ्घीय परियोजना कार्यालय (युएनओपीएस) को सहयोगमा हालसम्म ४४ वटा सेवा केन्द्र भवन निर्माण सम्पन्न भइसकेको र थप ८ वटा कार्यालय निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो ।
यसका साथै आईजीपी कार्कीले नेपाल प्रहरी एपमार्फत घरबाटै उजुरी तथा गुनासो दर्ता गर्न सकिने व्यवस्था विस्तार भइरहेको बताउनु भयो ।
कार्यक्रममा विभिन्न सरकारी तथा सुरक्षा निकाय, स्थानीय तह, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।