सिराज खान
नेपालगन्ज, वैशाख ३१ गते । बाँकेलगायत पश्चिम नेपालका तराईका जिल्लाहरूमा गर्मी बढेसँगै खरबुजा (तर्बुजा)को माग अत्यधिक बढ्न थालेको छ । गर्मी मौसममा तराईका जिल्लाहरूमा बढी खपत हुने खरबुजाको खेती बाँकेको राप्ती नदीको बगर क्षेत्रमा ठुलो परिमाणमा हुन थालेपछि माग अनुसारको आपूर्तिमा अहिले कुनै समस्या नरहेको किसान र व्यवसायीले बताएका छन् ।
हाल राप्ती नदीको सिधनियास्थित बगरको ११० बिघा जमिनमा करिब ७० लाख रुपियाँ लगानी गरी खरबुजा खेती गरिएको छ । भारतको बागपतबाट आउनुभएका किसान मोहम्मद बसिरले अहिले खरबुजा बिक्री गर्न भ्याइनभ्याइ रहेको बताउनुभयो । यस वर्ष करिब डेढ करोड रुपियाँ बराबरको कारोबार हुने अनुमान गर्दै उहाँले नेपालीले खेती नगरी बाँझो छाडेको बगरमा आफूहरूले कडा मिहिनेत गरेर पैसा फलाएको दाबी गर्नुभयो ।
नेपालगन्जका फलफूल व्यवसायी रमजान कवडियाले केही वर्षअघिसम्म भारतबाट आउने खरबुजामा निर्भर रहनुपरेकोमा हाल बाँकेमै ठुलो परिमाणमा उत्पादन भइरहेकाले कुनै समस्या नरहेको बताउनुभयो । बाँकेमा उत्पादित खरबुजाले बाँकेसहित बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र दाङसम्म राम्रो बजार पाएको उहाँले जानकारी दिनुभयो ।
डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीको बगरमा अहिले खरबुजा बिक्री गर्न किसानलाई भ्याइनभ्याइ छ । नदी किनाराको खेतमै खरिद गर्नेहरूको भिड लाग्न थालेपछि किसानहरू उत्साहित भएका छन् । बगरमा खरबुजा तयार भएको र गर्मी बढेसँगै बगरमै पुगेर खरिद गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।
राप्ती पुलको किनारामा खरबुजाको रास लगाएर बसेका भारतीय किसानहरूलाई ग्राहकसँग कुरा गर्ने फुर्सदसमेत छैन । भारतीय किसान सब्बिर खानले नेपालगन्ज, गुलरिया, सुर्खेत र दाङको घोराहीबाट गाडी लिएर सिधै खरिद गर्न आउनेहरूको ताँती लाग्ने गरेको बताउनुभयो । नेपालगन्ज–हुलाकी सडक प्रयोगकर्ताहरूले पनि गाडी रोकेर खरबुजा किन्ने गरेका छन् ।
नेपालगन्जबाट हुलाकी सडक हुँदै राप्ती सोनारी, नरैनापुर तथा दाङ, बुटवल र काठमाडौँ जाने अधिकांश यात्रीहरूले राप्ती नदीको पुलपारि बगरमा बेच्न राखिएका खरबुजा किनेर लैजाने गरेको अर्का किसान साहिद खानले बताउनुभयो । धेरै माग आएका बेला ट्रयाक्टर र ट्रकमा लोड गरी बजार पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।
किसानका अनुसार नेपालगन्ज, कोहलपुर, बर्दिया र सुर्खेतबाट दिनहुँ खरबुजाको माग आइरहेको छ । गर्मी अझै बढ्दै जाँदा खरबुजाको माग र व्यापार पनि थप बढ्ने देखिन्छ ।