रामकृष्ण बोहरा
बागलुङ, वैशाख ३१ गते । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले बिहीबार धौलागिरि प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ ।
मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरङ्ग र अन्तरङ्ग सेवा, बच्चा वार्ड र डायलायसिस सेवाको निरीक्षण गर्नुभयो । सो क्रममा अस्पतालमा भर्ना भइ स्वास्थ्यलाभ गरिरहेका बिरामीलाई अस्पतालको सेवाबारे मन्त्री पाण्डेले जिज्ञासा राख्नुभएको थियो ।
स्वास्थ्यमन्त्री बनेपछि पहिलो पटक बागलुङ आउनुभएका पाण्डेले अस्पतालको सेवा प्रवाह र जनशक्तिको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले सेवाप्रवाह र जनशक्तिको बारेमा मन्त्री पाण्डेलाई सहजीकरण गर्नुभएको थियो ।
पूर्व स्वास्थ्यमन्त्री कृष्ण पाठकसहित निरीक्षणमा आउनुभएका मन्त्री पाण्डेलाई अस्पतालका डाक्टर, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो ।
निरीक्षणपछि आयोेजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले अस्पतालको सेवाप्रवाहको अवस्था उत्कृष्ट देखिएको भन्दै कामको प्रशंसा गर्नुभयो । धौलागिरि प्रादेशिक अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको भन्दै पूर्वाधारदेखि उपकरण र जनशक्तिको क्षेत्रमा सहयोग गर्ने पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले अस्पतालको सेवालाई निरन्तरता दिन भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले अटुट उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बिरामीको अपेक्षालाई सम्बोधन गर्दै अस्पतालले पछिल्लो समय अस्थायी रूपमा भए पनि विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदै मन्त्री पाण्डेलाई स्थायी जनशक्तिको व्यवस्थापनमा पहल गरिदिन अध्यक्ष शर्माले आग्रह गर्नुभएको थियो ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले धवलागिरि प्रादेशिक अस्पतालमा स्टाफ नर्स विषयको पढाइ सुरु गर्ने निर्णय गरिसकेको छ । अस्पतालमा भौतिक पूर्वाधारदेखि र मानव संशाधनको उपलब्धता रहेकाले पढाइ सुरु गर्न कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले अस्पताललाई गतवर्ष सय शय्यामा स्तरोन्नति गरेपछि स्टाफ नर्स पढाउने बाटो खुलेको थियो । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका-१४, नारायणस्थानस्थित ‘सिटिइभिटी’ को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यावहारिक अभ्यास धवलागिरि अस्पतालमा गर्नेगरी तयारी गरिएको छ ।