• १ जेठ २०८३, शुक्रबार

कर्णाली करिडोरका १२३ किलोमिटर सडक कालोपत्र हुने

blog

कर्णाली करिडोरको कालोपत्र हुने खुलालु खण्ड । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, जेठ १ गते ।
भारत र चीनलाई जोड्ने कर्णाली करिडोरअन्तर्गत १२३ किलोमिटर सडक कालोपत्र हुने भएको छ । करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको उक्त खण्ड कालोपत्र तथा स्तरोन्नति गर्ने योजना अघि बढाइएको हो ।

सडकको ट्र्याक निर्माण भइसकेपछि कालोपत्रका लागि बहुवर्षीय ठेक्का प्रक्रियामा सहमति भएको कर्णाली करिडोर आयोजनाले जनाएको छ ।

कालीकोटको खुलालुदेखि कोटसम्म १३ किलोमिटर, भुक्काखोलादेखि बाजुराको पिलुचौरसम्म १५ किलोमिटर र हुम्लाको तुम्चादेखि सल्लीसल्लासम्म १३ किलोमिटर सडक कालोपत्र गर्न करिब ३ अर्ब १५ करोड रुपियाँ बराबरको बहुवर्षीय ठेक्का सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको थियो ।

कर्णाली करिडोर आयोजना प्रमुख बिसुनदास लामाका अनुसार उक्त खण्डको स्रोत सुनिश्चित भइसकेको छ र ४१ किलोमिटर सडकको ठेक्का छिट्टै व्यवस्थापन गरिनेछ ।

करिडोर प्रवेशद्वार खुलालु–सल्ली खण्डको ३५ किलोमिटर ग्राभेल सडक स्तरोन्नति भइसकेको छ । पालाताको घाटाचौरदेखि भुक्काखोलासम्म १४ किलोमिटर क्षेत्रमा नेपाली सेनाले कडा चट्टान फोड्ने काम सम्पन्न गरेको छ । सो खण्डको प्रतिवेदन प्राप्त भएपछि मात्रै कालोपत्र तथा स्तरोन्नतिको ठेक्का प्रक्रिया अघि बढाइने आयोजना प्रमुख लामाले बताउनुभयो ।

पिलुचौरदेखि कुबाडी २३ किलोमिटर र कुबाडीदेखि तुम्चा २७ किलोमिटर खण्डमा कालोपत्रका लागि ठेक्का व्यवस्थापन भई काम सुरु भइसकेको छ । हालसम्म भौतिक प्रगति करिब १७ प्रतिशत रहेको र चालु आर्थिक वर्षमा करिब २४ करोड रुपियाँ खर्च भइसकेको उहाँको भनाइ छ ।

करिडोरका १५ मध्ये ९ पुल निर्माणाधीन अवस्थामा छन् भने ६ वटा पुलका लागि बजेट सुनिश्चित भएको छ । ती पुल निर्माणका लागि करिब ६२ करोड रुपियाँ बजेट सुनिश्चित गरिएको आयोजनाले जनाएको छ ।

कालीकोट–बाजुरा सीमामा पर्ने भुक्काखोला, सेराखोला, बाँधुखोला, तुसारेखोला, पैमाखोला र मकाखोलामा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइएको छ । चालु वर्षको अन्त्यसम्म पिलुचौर–कुबाडी खण्डको केही भागमा कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।