हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ १ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको लोमान्थाङ दरबार परिसरमा रहेको भोटेकुकुरले स्वदेशी तथा विदेशी पर्यटकको ध्यान आकर्षित गर्ने गरेको छ ।
ऐतिहासिक तथा सांस्कृतिक ‘तिजी’ पर्वका अवसरमा दरबार अवलोकन गर्न पुगेका अधिकांश पर्यटकको नजर दरबारको बार्दलीमा बसिरहेको भोटेकुकुरमा पर्ने गरेको छ । कुनै समय सैनिक सुरक्षामा रहेको दरबार अहिले सुनसान भए पनि भोटेकुकुर र स्थानीयवासीको संरक्षणमा रहेको छ ।
ढुङ्गा र माटोबाट निर्मित दरबारभित्र अहिले सुनसान अवस्था छ । दरबार अवलोकन गर्न आउने पर्यटकलाई दरबार नजिक पुग्दा तर्साउने दुई वटा भोटेकुकुर दरबारभित्र र बाहिर राखिएका छन् । करिब एक दशकदेखि ती भोटेकुकुर दरबारका पहरेदारका रूपमा रहेका छन् ।
भोटेकुकुरले दरबारको संरक्षणसँगै यसको सौन्दर्यसमेत झल्काएको छ । पूर्व गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले दरबारको संरक्षणमा कर्मचारीसँगै भोटेकुकुरले पनि सहयोग गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजपरिवारका सदस्य आउँदा चहलपहल हुन्छ, अन्य समयमा दरबार सुनसान नै हुन्छ ।”
पूर्वराजपरिवारसँग निकट रहनुभएका विष्टका अनुसार कुकुरले पर्यटकलाई तर्साउनुको उद्देश्य दरबारभित्र अनावश्यक प्रवेश रोक्नु र चोरी हुनबाट जोगाउनु हो । दरबारभित्र कुकुरको आहार व्यवस्थापनका लागि कर्मचारीसमेत राखिएका छन् ।
उपल्लो मुस्ताङमा हिउँचितुवा, ब्वाँसो लगायतका वन्यजन्तुबाट पशुचौपाया जोगाउन गोठमा अनिवार्य रूपमा भोटेकुकुर पाल्ने चलन छ । दरबारका लागि आवश्यक पर्ने कुकुरको व्यवस्थापन पनि समुदायस्तरबाटै हुने गरेको छ ।
समुद्री सतहदेखि तीन हजार ८ सय ८० मिटर उचाइमा रहेको लोमान्थाङ बजारस्थित १५औँ शताब्दीको दरबार संरक्षणमा प्रदेश र संघीय सरकारको पर्याप्त चासो नदेखिए पनि स्थानीय सरकारले संरक्षणका प्रयास गरिरहेको छ ।
माटोको सहर भनेर चिनिने लोमान्थाङको दरबारलाई ‘टास्सी ध्याफेल दरबार’ अर्थात् स्थानीय भाषामा ‘भाग्यमानी दरबार’ भनिन्छ । सन् १३८० सम्म लोमान्थाङ स्वतन्त्र राज्यका रूपमा रहेको थियो । चीनको तिब्बतसँग खुला सिमाना भएकाले यो क्षेत्र व्यापारिक केन्द्रका रूपमा पनि परिचित थियो । दरबारका राजपरिवारको पारिवारिक सम्बन्धसमेत तिब्बती समुदायसँग रहेको बताइन्छ ।
१४औँ शताब्दीमा राजा आङ्देन साङ्वो विष्टको पालामा ढुङ्गा, माटो र काठ प्रयोग गरी पाँचतले लोमान्थाङ दरबार निर्माण गरिएको थियो । लोमान्थाङका अन्तिम तथा २५औँ पुस्ताका राजा जिग्मे परवल विष्टको विसं २०७३ मङ्सिरमा निधन भएपछि अहिले राजपरिवारका सदस्य चाडपर्व तथा विशेष अवसरमा मात्र दरबारमा बस्ने गरेका छन् । पर्यटकलाई भने दरबारभित्र प्रवेशमा रोक लगाइएको छ ।
सन् २००८ मा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) मा सूचीकृत गर्न प्रस्ताव गरिए पनि हालसम्म सूचीकरण हुन नसक्दा यसको पहिचान गुम्ने चिन्ता स्थानीयवासीमा छ । उपल्लो मुस्ताङ घुम्न जाने अधिकांश पर्यटकको रोजाइमा लोमान्थाङ दरबार पर्ने गरेको छ ।