काठमाडौँ, जेठ १ गते । निर्माण पक्षले चलचित्र ‘गौँथली’का दुईवटा पोस्टर सार्वजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएका यी पोस्टरहरूले सिनेमा ग्रामीण समाजको कथामा आधारित रहेको सङ्केत गरेका छन् । सार्वजनिक पोस्टरमध्ये एउटामा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा देखिएका छन् भने अर्कोमा सिम्रन मात्र फिचर्ड छिन् ।
पहिलो पोस्टरमा नायक अरुण क्षेत्री दौरासुरुवाल, कोट, ढाका टोपी र दुबोको मालामा सजिएका छन् । उनको पटुकीमा गुलेली सिउरिएको छ भने हातका औँलाहरूको स्थितिले शारीरिक रूपमा केही समस्या रहेको अर्थात् 'एबनर्मल' रहेको सङ्केत गर्छ । उनको मुहारमा जोस देखिए पनि सँगै रहेकी बेहुलीको भेषकी सिम्रनको मुहारमा भने तनाव झल्किएको छ ।
पृष्ठभूमिमा रहेको खरले छाएको झुपडीले उनीहरू ग्रामीण भेगको गरिब परिवारको सदस्य रहेको प्रस्ट पारेको छ ।
यसैगरी अर्को पोस्टरमा सिम्रन एक्लै डोकोमा स्याउला बोकेर खाली खुट्टा हिँडिरहेकी छन् । डोको बोक्दाबोक्दै पनि उनले पढिरहेको दृश्यले विवाहपछि पनि घरको काम गर्दै पढ्ने उनको तीव्र चाहनालाई दर्शाएको छ । पोस्टरमा देखिएको हिमालले चलचित्रको कथा उच्च पहाडी क्षेत्रको रहेको बुझाउँछ । निर्माण पक्षका अनुसार ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता हो ।
डा. कपिल रिजालले निर्देशन गरेको यस चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काका साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन् ।
डा. भोला रिजालको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् । सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेको चलचित्रमा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेका छन् । शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।
साउन १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्ने छन् ।
दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको नेपालको पहिलो 'गीति फिल्म' मानिने ‘गौँथली’ले ५१औँ दिन मनाउन सफल भएको थियो । अहिले सोही नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ चलचित्र निर्देशन गरेका हुन् ।