• १ जेठ २०८३, शुक्रबार

राष्ट्रपतिसमक्ष महालेखाको प्रतिवेदन पेस

‘सार्वजनिक निकायका पदाधिकारी बढी जवाफदेही हुनुपर्छ’

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्दै महालेखापरीक्षक तोयम राया । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, जेठ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

सो अवसरमा बोल्नुहुँदै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताउनुभयो ।

बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । 

यस प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई अझ बढी जवाफदेहीताबोध गराउने उहाँले उल्लेख गर्नुभयो ।

सरकारी खर्च रकमको बढ्दो बेरूजु कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम राख्ने कार्यमा महालेखापरीक्षकको कार्यालयको भूमिका महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।

आगामी दिनमा संस्थागत सक्षमता, पेसागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ समेत कार्यालय अझ क्रियाशिल हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो ।