• १ जेठ २०८३, शुक्रबार

राष्ट्रियता र समृद्धिका लागि खेल क्षेत्रको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री आचार्य

blog

लुम्बिनी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्य । तस्बिर : लीलाधर‌‌ वली

लीलाधर वली
घोराही, जेठ १ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

दाङको बेलझुण्डीमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरूको भूमिका राष्ट्रियताको सवालमा सिपाहीसरह रहेको उल्लेख गर्नुभयो । उहाँले खेलकुदले जिल्ला, प्रदेश र देशलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद हाम्रो मुख्य लक्ष्य हो,” उहाँले भन्नुभयो, “खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ । खेल पूर्वाधार निर्माण, खेलाडी उत्पादन तथा नियमित प्रतियोगिता आयोजना भइरहेका छन् ।”

मुख्यमन्त्री आचार्यले पछिल्लो समय युवाहरू कुलतमा फस्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनीहरूलाई खेल क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको बताउनुभयो ।

“खेल अनुशासन हो । स्वस्थ जीवनका लागि खेलकुद अनिवार्य छ । युवाहरू कुलतमा फस्नु सबैका लागि चिन्ताको विषय बनिरहेको छ,” उहाँले भन्नुभयो, “अनुशासन र नियममा बाँधिन जरुरी छ ।” उहाँले राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरूलाई हौसला प्रदान गर्दै प्रतिस्पर्धाबाट उत्कृष्टता हासिल गर्न आग्रह गर्नुभयो ।

प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबड्डी र एथलेटिक्स विधाका खेल समावेश छन् ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव तीरणदाज गौतमको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सीता शर्मा चौधरीलगायत खेल क्षेत्रका अगुवा, प्रशिक्षक तथा खेलाडीहरूको सहभागिता रहेको थियो ।