इस्लामावाद,(पाकिस्तान), जेठ १ गते । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको जनाइएको छ ।
बिहीबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आत्मघाती बमले भरिएको गाडीमा ठोक्किएर विस्फोट भए पछि सुरक्षाकर्मीको मृत्यु भएको र प्रहरीले जनाएको छ ।
बजौर जिल्लाको स्काउट्सको मुख्यालयमा स्थानीय समय अनुसार वेलुका ७ः५५ मा विस्फोट भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।
स्रोतहरूबाट प्राप्त प्रारम्भिक जानकारीका अनुसार, विस्फोटक पदार्थले भरिएको गाडी स्काउट परिसरको मुख्य गेटमा पुग्दा सुरक्षाकर्मीहरूले यसलाई रोक्ने प्रयास गरे पछि गेट र वरपरका पर्खालहरूलाई क्षति पुग्ने गरी विस्पोट भएको जनाइएको छ ।
विस्फोट पछि, भारी हतियारधारी आतङ्ककारीहरूले गोला बारी गर्दा मुख्यालय भित्र तैनाथ सुरक्षा बलहरूसँग गोलीबारी सुरु भएको स्रोतले जनाएका छन् ।
गोलीबारी कम भए पछि परिसर भित्र उद्धार र निकासी कार्य सुरु गरिएको जनाउदै अधिकारीहरूले मृतक तथा घाइतेहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको बताएका छन् ।
गोली हानाहानको क्रममा धेरै आतङ्कवादीहरू पनि मारिएको स्रोतहरूले बताएका छन् ।
सुरक्षा बलले यस क्षेत्रमा अपरेसन जारी राखेको कारण क्षतिको प्रकृति र सीमाको अझै पनि मूल्याङ्कन भइरहेको जनाइएको छ ।
घाइते सैनिकलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ भने अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।रासस, सिन्ह्वा