• १ जेठ २०८३, शुक्रबार

विज्ञान, प्रविधि, नवप्रवर्तन एवम् आविष्कारको प्रदर्शनी

blog

स्याङ्जाका विद्यार्थीहरूले प्रदर्शनी गरे विज्ञान, प्रविधि, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी विभिन्न सिर्जनात्मक सामग्री । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, जेठ १ गते ।
स्याङ्जाका विद्यार्थीहरूले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी विभिन्न सिर्जनात्मक सामग्रीको प्रदर्शनी गरेका छन् ।

भूपू सैनिक आवासीय माध्यमिक विद्यालय को प्राङ्गणमा सम्पन्न विज्ञान सामग्री प्रदर्शनीमा जिल्लाका विभिन्न स्थानीय तहका १२ विद्यालयको सहभागिता रहेको थियो । साथै थप २० जना विद्यार्थी वैज्ञानिकहरूले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा आविष्कारका सामग्री प्रदर्शन गरेका थिए ।

एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न प्रदर्शनीमा आँधीखोला गाउँपालिकास्थित त्रि–शहीद नमुना माध्यमिक विद्यालय प्रथम भएको छ ।

त्यस्तै भानुभक्त आचार्य माध्यमिक विद्यालय (गल्याङ नगरपालिका) द्वितीय, जीवनज्योति माध्यमिक विद्यालय (बिरुवा गाउँपालिका) तृतीय तथा त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालय (पुतलीबजार नगरपालिका) ले सान्त्वना स्थान हासिल गरेका छन् ।

विज्ञान र प्रविधिका क्षेत्रमा गरिएको यस्तो प्रदर्शनीले विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउने गण्डकी प्रदेश विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले बताउनुभयो । उहाँले भविष्यमा यस्ता कार्यक्रमले वैज्ञानिक उत्पादन र अनुसन्धानमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिमा विद्यार्थीको रुचि बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

एकीकृत सेवा कार्यालय स्याङ्जा का प्रमुख जीवन पौडेलले विद्यार्थीमा रहेको विज्ञान तथा प्रविधिसम्बन्धी प्रतिभा उजागर गर्न यस्ता प्रदर्शनी उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।