राजन रावत
हुम्ला, जेठ १ गते । हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिका का अधिकांश वस्तीमा विगत सात महिनादेखि नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध हुँदै आएको छ । गाउँपालिका केन्द्र छप्रेलासहित ११ वटा वस्तीमा लामो समयदेखि मोबाइल टावर र फोरजी सेवा नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन ।
फोरजी सेवा सात महिनादेखि अवरुद्ध हुँदा तथा मोबाइल नेटवर्क पनि राति १० देखि बिहान ९ बजेसम्म नचल्दा स्थानीय बासिन्दा समस्यामा परेका छन् । ताँजाकोट गाउँपालिका–५ का स्थानीय गोपाल बुढाले राति १० देखि बिहान ९ बजेसम्म टावर नआउने र अधिकांश मोबाइलमा फोरजी इन्टरनेट सेवा नचल्ने समस्या सामान्यजस्तै बनेको बताउनुभयो ।
उहाँका अनुसार फोन गर्न पनि दिउँसोको समय कुर्नुपर्ने र इन्टरनेट चलाउन करिब एक घण्टा उकालो चढेर मदन खौलासम्म जानुपर्ने बाध्यता छ । लामो समयसम्म समस्या समाधान नभए पनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ ।
अर्का स्थानीय पदम नेपालीले सञ्चार सेवा अवरुद्ध हुँदा दैनिक कामकाज, सूचना आदानप्रदान तथा आकस्मिक अवस्थामा समेत समस्या हुने गरेको बताउनुभयो । उहाँले समस्या समाधानका लागि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाउनुभयो ।
यस विषयमा वडा अध्यक्ष मदन नेपालीले विद्युत्को पावरले टावर धान्न नसक्दा समस्या देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार समाधानका लागि वैशाख १७ गते नेपाल टेलिकमको केन्द्रीय कार्यालय, काठमाडौँमा निवेदनसमेत दिइएको छ । आवश्यक बजेट व्यवस्थापन भए विद्युत् लाइन नियमित गर्न सकिने उहाँको भनाइ छ ।
ताँजाकोट गाउँपालिका–४ पाड्नीबाडास्थित कर्पुखोला लघुजलविद्युत् लाइन विस्तारको काम सम्पन्न भएपछि मदन गाउँ क्षेत्रमा रहेको फोरजी टावरको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
स्थानीयले सञ्चार सेवा नियमित बनाउन सम्बन्धित निकायसँग तत्काल पहल गर्न माग गरेका छन् ।
यता गाउँपालिका केन्द्र छप्रेलामा पनि फोरजी सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । फोरजी नचल्दा गाउँपालिकाले कार्यालय सञ्चालनका लागि वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्दै आएको छ ।
त्यसैगरी ताँजाकोट गाउँपालिका–१ काँडा जिमानामा पनि फोरजी सेवा अवरुद्ध हुँदै आएको स्थानीय छप्कीलाल खड्काले बताउनुभयो । उहाँका अनुसार इन्टरनेट प्रयोगका लागि एक घण्टा टाढा डाँडासम्म जानुपर्ने बाध्यता छ ।
यता उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–४ र ५ मा पनि फोरजी सेवा एक महिनादेखि अवरुद्ध हुँदै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभयो ।