• ३१ वैशाख २०८३, बिहिबार

खानेपानी पाएपछि वडामा खुसियाली

blog

बैतडी समाचारदाता 

बैतडी, वैशाख ३१ गते । बैतडीको पाटन नगरपालिका–१ का छ वटा गाउँमा पाँच करोड रुपियाँको लागतमा खानेपानी सञ्चालनमा आएपछि खुसियाली छाएको छ । यहाँका सकार, लदौली, इजर, घोडेधपान, डङ्सिली र सकार–गाउँमा एकै पटक खानेपानी पुगेको हो । 

सङ्घीय सरकारको पूर्ण लगानीमा खानेपानी योजना निर्माण भएको पाटन नगरपालिका–१ का वडाध्यक्ष तर्क ठगुन्नाले बताउनुभयो । उहाँले सिन्याखोड–लदौली–डङ्सिली लिफ्ट खानेपानी योजना निर्माण भएपछि जर्किनमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो योजना पाटन नयाँ सहर आयोजना कार्यालयमार्फत सञ्चालन भएको हो । भौगोलिक विकटता र उचाइका कारण तल्लो क्षेत्रमा रहेको पानीको मुहानबाट विद्युतीय मोटर प्रयोग गरेर माथिल्लो बस्तीमा पानी वितरण गर्न वडा कार्यालयले सहजीकरण गरेको छ ।”

योजना पूरा भएपछि गाउँमा खुसियाली छाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेश भट्टराईले बताउनुभयो । उहाँले उपभोक्तालाई पानी वितरण गर्न एक लाख ८० हजार लिटर, ५० हजार र २० हजारका लिटरका छ वटा टङ्की निर्माण गरिएको बताउनुभयो । टङ्कीमा पानी सङ्कलन गर्न ९० एमएमको पाइप प्रयोग गरिएको छ भने दुई ठाउँमा २० र २५ हर्सपावरको विद्युतीय मोटर जडान गरिएको छ ।

उहाँले योजना पूरा भएपछि पानी बोकर खानुपर्ने समस्या हटेको बताउनुभयो । यसअघि यहाँका स्थानीय घटौँ पैदल हिँडेर पिठिउँमा जर्किन बोकेर जीविका चलाउँदै आएका थिए । लिफ्ट खानेपानी योजना बनेपछि दुःखका दिन सकिएको ८४ वर्षीय गौरी भट्टराईले बताउनुभयो । 

उभोक्तालाई दैनिक तीन घण्टा पानी वितरण गर्न तीन जना सहयोगी भर्ना गरिएको छ । सहयोगी र योजना मर्मतका लागि प्रत्येक उपभोक्ताबाट मासिक २५० रुपियाँ शुल्क लिने नियम पारित गरिएको उपभोक्ताले बताएका छन् । जिल्लामा पछिल्लो समय अग्लो डाँडामा रहेका पानीका मुहान सुक्न थालेपछि विभिन्न खोलाबाट लिफ्ट प्रविधिका खानेपानी बन्न थालेका छन् । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको तथ्याङ्क अनुसार बैतडीमा ८५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी पुगेको छ । चालु आवमा मात्रै करिब ५० वटा लिफ्ट खानेपानीका योजना सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन बैतडीका कार्यालय प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो ।