सिराज खान
नेपालगन्ज, वैशाख ३१ गते । पछिल्लो समयमा बाँके जिल्ला मा क्षयरोगका बिरामी बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार एआई एक्स–रे विधिबाट क्षयरोगको सक्रिय खोजपड्ताल तीव्र पारिएपछि बिरामी फेला पर्ने क्रम पनि बढेको हो ।
स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार शाहले चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा ७२९ जना क्षयरोगका बिरामी फेला परेको जानकारी दिनुभयो ।
उहाँका अनुसार साउनदेखि चैत मसान्तसम्म एआई एक्स–रे विधिबाट गरिएको सक्रिय खोजपड्तालका क्रममा ७२९ जना बिरामी पहिचान भएका हुन् । सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा बिरामी भेटिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिका मा २०० जना, कोहलपुर नगरपालिका मा १२९ जना क्षयरोगी फेला परेका छन् । त्यसैगरी डुडुवा गाउँपालिका मा ६२, बैजनाथ गाउँपालिका मा ९३, खजुरा गाउँपालिका मा ९२ र जानकी गाउँपालिका मा ५८ जना बिरामी फेला परेका छन् ।
यस्तै राप्तीसोनारी गाउँपालिका मा ५० र नरैनापुर गाउँपालिका मा ४५ जना क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
फोकल पर्सन शाहका अनुसार गत वर्ष बाँकेमा १ हजार १८२ जना क्षयरोगका बिरामी फेला परेका थिए । यस वर्ष नौ महिनामै करिब ८०० जना नयाँ बिरामी पहिचान भइसकेका छन् ।
पछिल्लो समय समुदायस्तरमै क्षयरोग पहिचान गर्न एआई एक्स–रे विधिबाट सक्रिय खोजपड्ताल शिविर सञ्चालन भइरहेको छ । नेपालगन्ज र खजुरामा गरिएको शिविरबाट मात्रै १४ जना क्षयरोगी फेला परेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग फोकल पर्सन विनोद विकका अनुसार वडा नं. १२, १४, २०, २१ र २२ मा ८ जना क्षयरोगी फेला परेका छन् । तीमध्ये एक जनालाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ ।
त्यसैगरी खजुरा गाउँपालिका मा ६ जना क्षयरोगी फेला परेका छन्, जसमध्ये वडा नं. ८ का एक बिरामीलाई पनि भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।