अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ३१ गते । स्याङ्जा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चार विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाका १७२ माध्यमिक विद्यालयबाट एसइईमा सहभागी विद्यार्थीमध्ये बिरुवा गाउँपालिकाका अरनिको मावि राङभाङ र भुरुङचौकी मावि तथा भीरकोट नगरपालिकाका राजेन्द्र भवानी मावि स्वरेक र सिरुखर्क जोगिस्थान मावि ढापुकको नतिजा शून्य आएको हो ।
अरनिको माविबाट ४, भुरुङचौकी माविबाट १०, राजेन्द्र भवानी माविबाट १० र सिरुखर्क जोगिस्थान माविबाट ३ जना विद्यार्थी एसइईमा सहभागी भए पनि सबै अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख विश्राज आचार्यले जानकारी दिनुभयो ।
जिल्लामा कुल ३ हजार ३३८ विद्यार्थी एसईईमा सहभागी भएकामा २ हजार ३१५ विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी ११ जनाले चार जीपीए प्राप्त गरेका छन् । ३.६ देखि ३.९९ जीपीए २१८, ३.२ देखि ३.६ जीपीए ६३४, २.८ देखि ३.२ जीपीए ८४२, २.४ देखि २.८ जीपीए ५६३, २.० देखि २.४ जीपीए ४६ र १.६ देखि २.० जीपीए एक जना विद्यार्थीले प्राप्त गरेका छन् ।