• १२ वैशाख २०८३, शनिबार

डिजेल खपत घट्यो पेट्रोलको भने बढ्यो

blog

काठमाडौैँ, वैशाख १२  गते ।  दुुई दिन सार्वजनिक बिदाले डिजेलको खपत घटे पनि पेट्रोलको खपत भने बढेको देखिएको छ । 

सरकारले इन्धन खपत कम गर्न २३ चैतदेखि लागुु हुने गरी शनिबारसँगै आइतबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

डिजेलको खपतमा कमी आए पनि पेट्रोलको खपत भने झनै बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार मुलुकभर ७ चैतदेखि २१ चैतसम्म पेट्रोल २८ हजार २१६ किलोलिटर खपत भएकोमा २२ चैतदेखि वैशाख ७ सम्म २९ हजार २४९ किलोलिटर खपत भएको छ । यस्तै सो अवधिमा ६९ हजार ५६७ किलोलिटर डिजेल खपत भएकोमा ७ वैशाखसम्म घटेर ५६ हजार २२७ किलोलिटर खपत भएको निगमले जनाएको छ ।

यस अनुसार १५ दिनको अवधिमा बजारमा डिजेलको खपत १३ हजार किलोलिटर घटे पनि पेट्रोलको खपत भने एक हजार किलोलिटरले बढेको निगमको तथ्याङ्कले देखाएको छ । 

निगमका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक दुई हजार दुुई सय किलोलिटरदेखि दुई हजार पाँच सय किलोलिटर पेट्रोल र चार हजार पाँच सय किलोलिटरदेखि पाँच हजार किलोलिटर डिजेल खपत हुने गर्छ । दुई दिन सार्वजनिक बिदा कायम हुँदा निजी सवारीमा घुमफिरका गतिविधि बढेको हुन सक्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो । उपत्यकामा भने दैनिक छ सय किलोलिटरदेखि सात सय किलोलिटर पेट्रोल र ७५० किलोलिटरदेखि ८५० किलोलिटर डिजल खपत हुने गर्छ । पेट्रोलको तुुलनामा डिजेलको खपत धेरै हुने गर्छ । 

पश्चिम एसियाली मुलुकमा भएकोे युुद्धका कारण इन्धनको मूूल्य निरन्तर बढ्दै गएपछि खपत घटाउन सरकारले आइतबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । साथै इन्धनको खपत कम गर्न सरकारी कर्मचारीले पाउँदै आएको तेल सुविधामा समेत आधा कटौती गरेको छ । 

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले डिजलको मूूल्य बढ्दा ८० प्रतिशत विकासनिर्माण रोकिएको जानकारी दिनुुभयो । “सुरु भएको काम सकाउनुुपर्ने भएकाले सामान्य रूपमा भइरहेको छ,” उहाँले भन्नुुभयो, “डिजेल र अलकत्राको मूूल्य बढेकाले विकासनिर्माण देशैभर ठप्प प्रायः छ ।’’ प्रतिलिटर ९० रुपियाँ रहेको अलकत्राको मूूल्य अहिले बढेर अहिले १८० रुपियाँसम्म पुुगेको उहाँको भनाइ छ । महासङ्घका अनुसार भारतबाट महँगोमा अलकत्रा ल्याउनुु परेको र निर्माण सामग्री ढुवानीको लागत मूल्य बढेकाले पनि विकासनिर्माणमा प्रत्यक्ष असर परेको छ । 

इन्धन मूूल्य बढ्दा अधिकांश निर्माण सामग्रीको मूूल्य बढेकाले विकासनिर्माणसमेत ठप्प हुुँदा डिजेलको खपतमा घटेको उहाँको आकलन छ ।