• २ जेठ २०८३, शनिबार

सूचनाको हक प्रभावकारी कार्यान्वयनमा ल्याउन निर्देशन

blog

अभिमुखीकरणमा सहभागी। तस्बिर: रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, जेठ २ गते। गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको छ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा सूचनाको हक कार्यान्वयनका विषयमा भएको अभिमुखीकरण कार्यक्रममा उहाँले यस जिल्लाका सार्वजनिक निकायका सूचना अधिकारीलाई यस्तो निर्देशन दिनुभएको हो।

प्रमुख जिल्ला अधिकारी गैह्रेले सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सूचना अधिकारीको विशेष भूमिका हुने बताउनुभयो।

सूचनामा सबैको समान पहुँच पुर्‍याउन सबै जिम्मेवार हुन आवश्यक रहेको भन्दै उहाँले सूचनाको हक र पारदर्शिताको सफल कार्यान्वयनमा सूचना अधिकारीको विशेष भूमिका हुने बताउनुभयो।

सूचना अधिकारीलाई गरिएको अभिमुखीकरणको सहजिकरणका क्रममा उहाँले सूचना संस्कृतिको अभाव रहेको भन्दै सार्वजनिक निकायमा अभिलेख व्यवस्थापनमा भएको कमजोरीका कारण सूचना प्रवाहमा समस्या देखा पर्ने गरेको बताउनुभयो।

अभिलेख व्यवस्थापनलाई चुस्तदुरुस्त पार्दै नागरिकको सूचना पाउने संवैधानिक अधिकारलाई बञ्चित गर्न नहुने प्रजिअ गैह्रेको भनाइ छ।

सूचनाको हकको प्रभावकारी प्रयोगले पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता र भ्रष्टाचार नियन्त्रण गर्न राज्यका विभिन्न संरचनामा सुधार ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ।

सूचना अधिकारीलाई सूचनाको हकका विषयमा प्रशिक्षित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभिमुखीकरणमा यस जिल्लाका सङ्घीय, प्रदेश तथा स्थानीय तहका कार्यालय र विभिन्न सार्वजनिक संस्थानका कार्यालयका सूचना अधिकारीलगायतको उपस्थिति रहेको थियो।