• २ जेठ २०८३, शनिबार

दुधमा अनुदान दिएर नगरपालिकाद्वारा किसानलाई प्रोत्साहन

blog

भानु नगरपालिका–१२ का व्यावसायिक किसान कुशल अधिकारी भैंसी दुहुँदै ।तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, जेठ २ गते । तनहुँको भानु नगरपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने भएको छ ।

नगरभित्रका व्यावसायिक किसानलाई कृषि र पशुपालनमा टिकाइराख्न नगरपालिकाले दुधमा प्रतिलिटर पाँच रुपियाँका दरले अनुदान दिने नीति लिएको हो ।

उत्पादनमा आधारित यो अनुदानले वास्तविक किसानलाई सिधै लाभ पुग्ने र पशुपालनमा थप हौसला मिल्ने नगरपालिकाले विश्वास लिएको छ । नगरपालिकाकी उपप्रमुख उमा गोतामेले यस्ता कार्यक्रमले उत्पादन बढाउन र स्वरोजगारी सिर्जना गर्न ठुलो सहयोग पुग्ने बताउनुभयो ।

“उत्पादनमा आधारित अनुदान कार्यक्रमले कृषकलाई थप मिहिनेत गर्न हौसला प्रदान गर्छ,“उपप्रमुख गोतामेले भन्नुभयो, “नगरपालिकालाई दुध, माछामासु र अण्डामा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ। युवाहरूलाई स्वदेशमै पसिना बगाउन प्रोत्साहित गर्नु यसको मुख्य उद्देश्य हो ।”

उपप्रमुख गोतामेका अनुसार साना तथा ठुला दुग्ध उत्पादक कृषक समूह र सहकारीमार्फत आबद्ध भएका किसानहरूले यो सुविधा प्राप्त गर्ने छन् ।

भानु नगरपालिकाका पशुसेवा प्राविधिक अमित ढुङ्गानाका अनुसार दुधमा अनुदान कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ८ लाख रुपियाँ विनियोजन भई कार्यान्वयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

यस कार्यक्रमका लागि आह्वान गरिएको प्रस्ताव बमोजिम जिल्लाका तीन वटा दुग्ध सहकारी संस्थाहरू छनोटमा परेका छन् ।छनोट हुनेहरूमा वडा नम्बर ८ को प्रगति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, वडा नम्बर ९ को कालिका दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र वडा नम्बर ११ को रूपाकोट मिलिजुली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड रहेका छन् ।

ती सहकारीमा आबद्ध किसानलाई उत्पादनको लिटर गणनाका आधारमा अनुदान वितरण गर्ने तयारी भइरहेको पशुपक्षी तथा मस्त्य विकास शाखाले जनाएको छ ।