विजयकुमार साह
ढल्केबर, जेठ २ गते । धनुषाको मिथिला बिहारी नगरपालिकामा ४८३ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।
साबिक मिथिलेश्वर निकास गाविस वडा नम्बर ६, ७, ८ र ९ मा पुस्तौंदेखि गाउँब्लक जमिन भोगचलन गर्दैआएका ति परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
नापी कार्यालय धनुषाको २ नम्बर नापी टोलीका प्रमुख सियाराम साहले गाउँब्लक जग्गाको नापनक्सा तथा दर्ता प्रक्रिया पुरा गरी शनिबार लालपुर्जा वितरण गरिएको बताउनुभयो ।
उहाँले कार्यालयमा यस ठाउँबाट दर्ता भएका छ सय ५८ निवेदनमध्ये हाल चार सय ८३ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिनुभयो । टोली प्रमुख साहले लालपुर्जा पाउनबाट वञ्चित रहेका परिवारलाई पनि चाँडै सम्पूर्ण प्रक्रिया पूरा गरी प्रमाणपत्र वितरण गरिने बताउनुभयो ।
लालपुर्जा प्राप्तिपछि ती परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । वडाध्यक्ष सुरेन्द्रकुमार मण्डलले पुस्तौँदेखि भोगचलन गर्दै आएका गाउँब्लक जग्गाको स्वामित्व प्राप्तिका लागि भएको लामो सङ्घर्ष र सरकारी कर्मचारीको निरन्तर प्रयासको कारण लालपुर्जा वितरण सम्भव भएको बताउनुभयो ।
लालपुर्जा प्राप्त गरेका स्थानीयवासीले आफ्नो पुर्ख्यौली जग्गामा कानुनी अधिकार प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन् ।त्यस अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्यौपाने, कार्यपालिका सदस्य रामउदगार दास, सर्वेक्षक राजिवप्रसाद साह, अमिन श्यामराज पण्डित, सञ्जय यादवलगायत कर्मचारी र विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।