हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ १ गते । मुस्ताङको लोमन्थाङमा बुधबारबाट सुरू भएको १५ औं शताब्दीको ऐतिहासिक, सांस्कृतिक ‘तिजी’ पर्व हर्षोल्लासका साथ मनाइएको छ ।
लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा बासोबास गर्ने विष्ट,लोवा, गुरूङ जाति लोमन्थाङ दरबार अगाडी बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरी सुरू भएको पर्वको अन्तिम दिन पूजाका सामग्री गाउँबाहिर लगेर विर्सजन गरिएको छ ।
तिजी अवधिभर मुस्ताङका सांस्कृति राजपरिवार, स्थानीय जनप्रतिनिधि, लामासहित स्थानीयबासीको सहभागिता रहेको थियो । आशा र शान्तिको कामना गर्दै सुरू भएको पर्वको पहिलो दिन जमिनका देवीदेवताको पूजाआराधना गरिन्छ भने दोश्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य, लामा र भिक्षुहरूले धार्मिक पूजाका साथै देवीदेवताका मुकुट पहिरिएर नृत्य र तेश्रो दिन राक्षसलाई धपाएको अभिनय लगायत धार्मिक गतिविधि गरिएको थियो । तिजी पर्व बुद्धधर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसँग सम्बन्धित छ ।
तिजीमा धर्मगुरु पद्यसम्वा रिम्पोछेको तस्बिर अंकित ठूलो आकारको थाङको प्रर्दशन गरिएको छ । करिब साढे दुईतले घर बराबरको उचाईको थाङका तिजीको अवसरमा सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि राखिएको थियो । प्राकृतिक प्रकोप, रोगव्याधी, अनिकाल, महामारीजस्ता अनिष्ट नहुन भन्दै लामाले प्रार्थना गरिन्छ ।
पर्वमा लामा नाच, मुकुट नाच प्रमुख आर्कषण रहेको छ। पर्वका अवसरमा एकआपसमा बर्षभरी भएका सुख–दुख, स्नेह साटासाट गर्ने, आफ्ना समस्या समाधान गर्ने, ग्रहदशाबाट मुक्त पाउने विश्वास रहेको लोमन्थाङ गाउँपालिका मुस्ताङका अध्यक्ष टसी नर्वु गुरुङले बताउनुभयो ।
अध्यक्ष गुरूङले भन्नुभयो,‘‘विदेशी पर्यटकको समेत उत्साहजनक सहभागिता रहेकोे थियो,समुदायको एकताको सन्देश प्रवाह गर्ने पर्व पनि हो ।’’ तिजीमा जिल्ला बाहिर र विदेशमा रहेकाहरू समेत घर आएका छन् ।
पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको अध्यक्ष गुरूङको भनाई छ । पर्वलाई जीवनमा भोगिएका सबै अभाव र दुःख बिर्सेर गरिब पनि आफ्नो क्षमताअनुसार पर्व मनाउने गरिन्छ । तिजीमा ड्रम बजाएर प्रस्तुत गरिने लामा नाच यहाँको प्रमुख आर्कषण रहेको छ । तिजी विविध समस्याका कारण १९९२ देखि १९९४ सम्म रोकिएको थियो ।

