• १ जेठ २०८३, शुक्रबार

१७ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कोहलपुर प्रथम

blog

१७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको विजेता कोहलपुर नगरपालिकाको टिम । तस्बिर : कमल खत्री

कमल खत्री

धम्बोझी, जेठ १ गते । कोहलपुर नगरपालिकाले लगातार पाँचौ पटक बाँके जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जित्न सफल भएको छ । लगातार उत्कृष्ट नतिजा निकाल्ने क्रममा १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उपाधि जितेसँगै कोहलपुर पाँचौ पटक उपाधि जित्न सफल भएको हो । 

नेपालगन्ज रङ्गशालामा भएको बाँके जिल्ला स्तरीय रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा नेपालगन्ज उप–महानगरपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो भयो । कोहलपुर नगरपालिकाले २२ स्वर्ण, ९ रजत र १३ कास्य पदक प्राप्त गर्दै यसवर्षको उपाधि जितेको हो । 

दोस्रो भएको नेपालगन्ज उपमहानगरपालिकाले प्रतियोगितामा १५ स्वर्ण, ११ रजत र १९ कास्य पदक जितेको थियो भने खजुरा गाउँपालिकाले ८ स्वर्ण, ४ रजत तथा ९ कास्य पदक जितेको थियो। विजेताहरूलाई कोहलपुर नगरका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो । कोहलपुर नगरपालिकाले यसअघि १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको थियो । 

प्रतियोगितामा राप्ती सोनारी गाउँपालिकाले अनुशासनतर्फ उत्कृष्टताको पुरस्कार पाएको छ । यसैगरी छात्र–छात्रा कबडडीको दुबै बिधातर्फ खजुरा प्रथम भएको थियो । छात्र एथलेटिक्सतर्फ कोहलपुर, खजुरा र नेपालगन्ज तथा छात्रातर्फ नेपालगन्ज, राप्ती सोनारी र कोहलपुरले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान ल्याएका छन् । 

यसैगरी छात्र भलिबलतर्फ कोहलपुर, बैजनाथ र नेपालगन्ज क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रा भलिबलतर्फ कोहलपुर, राप्ती सोनारी र नेपालगन्ज क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । 

यसैगरी मार्सल आर्ट (उसु) तर्फ नेपालगन्ज प्रथम, मार्सल आर्ट (कराँते) तर्फ नेपालगन्ज, कोहलपुर र खजुरा क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् ।

बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता दुई दिन सम्म चलेको थियो । 

प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको सहभागिता रहेको आयोजक बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठले जानकारी गराउनु भयो । राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डी, कराते, तेक्वान्दो, उसु खेल समावेश गरिएको छ । 

बाँके जिल्ला स्तरीय १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको विजेता खेलाडीहरुले लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन् । प्रदेश स्तरीय प्रतियोगिता जेठ १ देखि ३ गते सम्म दाङमा संचालन हुनेछ । प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा छनोट भएका खेलाडीले काठमाडौैमा जेठ ६ देखि ८ गते सम्म सहभागिता जनाउने छन् ।