• १ जेठ २०८३, शुक्रबार

लेखनाथमा खुल्यो यातायात कार्यालय

blog

कास्कीको पोखरा–३०, लेखनाथमा शुक्रबार यातायात व्यवस्था कार्यालयको सेवा सुरुवात गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १ गते । कास्कीको पोखरा महानगरपालिकाको साविक लेखनाथमा शुक्रबारदेखि यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा ३० स्थित साविक सहिद स्मारक आधारभूत विद्यालय रहेको भवनमा कार्यालय स्थापना गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार यातायात व्यवसायी झलक बराललाई पटके सवारी अनुमति प्रदान गरी यातायात कार्यालयको सेवा सुरुआत गर्नुभयो । मुख्यमन्त्री पाण्डेले अब अब यो कार्यालय लेखनाथबाट अन्यत्र नसारिने वाचा गर्नुभयो । 

केही समयपछि सवारी चालक अनुमतिपत्रसहित सबै प्रकारका यातायातसम्बन्धी सेवा यही कार्यालयबाट उपलब्ध गराइने उहाँको भनाइ छ । “सबै सेवा यहाँबाट दिइन्छ । यातायात कार्यालय, यो लेखनाथबाट,” उहाँले भन्नुभयो, ‘तर केही समय लाग्छ, किनकि सफ्टवेयरका कुराहरु छन् जुन विभागले हामीलाई दिनुपर्ने हुन्छ ।”

उहाँले ट्रायल सेन्टर निर्माण, कर्मचारी तालिम र प्राविधिक व्यवस्थापनका काम क्रमशः अघि बढाइने जनाउँदै ट्राफिक कार्यालयको व्यवस्थापन पनि यही क्षेत्रमा गरिने प्रष्ट पार्नुभयो । “यातायात कार्यालय पनि व्यवस्थित हुनुपर्छ, ट्राफिक कार्यालय पनि व्यवस्थित हुनुपर्छ, त्यो हुन्छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । 

कार्यक्रममा गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले आफू मुख्यमन्त्री बनेपछिको दोस्रो मन्त्रिपरिषद बैठकको पहिलो निर्णय कार्यान्वयन हुँदा गौरवबोध भएको सुनाउनुभयो । उहाँले स्थानीयको सहयोगबिना काम सम्भव नहुने उल्लेख गर्दै उनले गुणस्तरीय र पारदर्शी सेवा दिन कर्मचारीलाई आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पूर्वी कास्कीका नागरिकलाई सहज सेवा दिन कार्यालय स्थापना गरिएको बताउनुभयो । ४० रोपनी क्षेत्रफल रहेको उक्त जमिनको उपयोग र स्वामित्वबारे पुरानै विवाद भए पनि संवादबाट समाधान खोजिने प्रमुख आचार्यको भनाइ छ । 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले जनताको सेवाका लागि नै कार्यालय सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव कृष्ण लम्साल, भौतिक मन्त्रालयका सचिव नवराज शर्मा, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, पोखरा ३० का वडाध्यक्ष दुर्गा सुवेदी, सरोकार समिति अध्यक्ष सुरेन्द्र गुरुङ, सम्झौता आमा समूहकी अध्यक्ष गौतमी केसी तथा सहिद स्मारक आधारभूत विद्यालयका पूर्वअध्यक्ष प्रेम लिगल लगायतले बोल्नुभएको थियो । 

लेखनाथको यातायात कार्यालयमा १३ जनाको दरबन्दी भए पनि अहिले आठ कर्मचारी कार्यरत छन् । निमित्त कार्यालय प्रमुख सूर्यबहादुर भुजेलले यातायात व्यवस्था विभागसँग पहुँच माग गरिएको जनाउँदै चाँडै पूर्ण स्तरमा सेवा सुरु हुने बताउनुभयो । “बिलबुक नवीकरणका लागि भिआरएस सिस्टम र लाइसेन्स नवीकरणका लागि इबिएल भिआरएस सिस्टममा पहुँच मागेका छौँ,” उहाँले भन्नुभयो, “पूर्वाधार र पहुँचको व्यवस्था भएपछि चाँडै पूर्ण रुपमा सबै सेवा सुरु गर्छाैँ ।”

गण्डकीमा अब कास्कीमा तीन, तनहुँ, बागलुङ र नवलपुरमा एकएक यातायात व्यवस्था कार्यालय छन् । गोरखा, लमजुङ र स्याङ्जामा भने सेवा केन्द्रमार्फत् यातयात व्यवस्था कार्यालयका सेवा प्रवाह भइरहेका छन् ।