काठमाडौँ, वैशाख १५ गते । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको करको दर घटाउन सरकारलाई सुझाव दिनुभएको छ । हाल विलासिताका वस्तु तथा सेवामा लगाइएको कर उच्च रहेकाले त्यसलाई कम गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने उहाँको तर्क छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटबारे ‘अर्थको अर्थ’ द्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्होत्राले करको दर घटाउँदा अनौपचारिक अर्थतन्त्र औपचारिक दायरामा आउने बताउनुभयो ।
"सरकारले आगामी सात वर्षभित्र अर्थतन्त्रको आकार १०० अर्ब डलर र प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ, यो सम्भव छ," उहाँले भन्नुभयो, "त्यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्छ ।"
उपाध्यक्ष मल्होत्राले बजेटको आकार बर्सेनि बढ्ने तर लक्ष्य अनुसार राजस्व नउठ्ने र खर्च पनि नहुने परिपाटी रहेको औँल्याउनुभयो । हरेक केही महिनामा बजेटको मध्यावधि समीक्षा गर्दै आकार घटाउने प्रवृत्तिले अर्थतन्त्रलाई सही दिशा नदिने बताउँदै उहाँले आगामी बजेट यथार्थपरक हुनुपर्नेमा जोड दिनुभयो । सरकारले महत्त्वाकाङ्क्षी योजना सफल पार्न निजी क्षेत्रसँग सहकार्य गरे आफू साथ दिन तयार रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।