• १५ वैशाख २०८३, मङ्गलबार

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चार आवमा १८८ जनाले लिए सेवा

blog

मुस्ताङ,  वैशाख १५ गते ।  यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गतचैत महिनासम्ममा ४२ जनाले गर्भपतन सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलले जानकारी दिनुभयो । 

प्रदेश अस्पताल जोमसोम मात्र सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएको छ भने दुई चिकित्सकसहित पाँच  स्वाथ्यकर्मीले सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन तालिम प्राप्त गरेका छन् । 

यहाँ सरकारी अस्पतालमा मात्र सुरक्षित गर्भपतन सेवा सीमित छ । सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलले भन्नुभयो,“ अस्पतालमा १२ हप्ता अर्थात् तीन महिनासम्मका गर्भवतीको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ र सो अवधिभन्दा माथिलाई उपल्लो निकायमा प्रेषण गर्ने गरेको छ । ” 

अस्पतालमा ‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधीको प्रयोगद्वारा  गरिने सुरक्षित गर्भपतन सेवा (एमए) तथा औजार सहित अन्य प्रक्रियाका माध्यमबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको डा. कँडेलले बताउनुभयो । १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेसन (एमभिए)’ विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ । १३ देखि १८ हप्तासम्म गर्भलाई  ‘कम्प्रिहेन्सिब इमरजेन्सी अब्सटेटिक नियोनेटल कियर’ सुविधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेसन एन्ड इभ्याकुएसन (डिएन्ड) गरिन्छ ।

औषधी विधि (एमए)बाट गरिने गर्भपतन सेवा प्रभावकारी रहेको छ । सुरक्षित गर्भपतन सेवाका बारेमा अझै जानकारी छैन । सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति रहेको जनाइएको छ ।  मुस्ताङका हालसम्म सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन स्वास्थ्य संस्था दर्ता नभएको बताइएको छ । ‘गर्भपतन सेवा लिन सूचीकृत स्वास्थ्य संस्थामै जानुपर्छ’ र ‘गर्भपतनका लागि अनधिकृत औषधी स्वास्थ्यकर्मीका सल्लाह बिना सेवन गरिनु हँदैन’ भन्ने  चेतनाका अभाव यहाँ पनि रहेको बताइएको छ । 

प्रसूति शल्यक्रिया सेवा सञ्चालन 

अस्पतालमा उपलब्ध  बर्थिङ सेन्टर, प्रसूति शल्यक्रिया सेवा र आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन जोड दिएसँगै प्रसूति शल्यक्रिया सेवा प्रभावकारी बन्दै गएको छ  । आर्थिक वर्ष २०७९/८० देखि चालु आव २०८२/८३ को चैत महिनासम्म १०४  महिलाहरूले प्रसूति सेवा प्राप्त लिएका छन् । ती समध्ये १५ महिलाहरूले शल्यक्रियामार्फत प्रसूति गराएका थिए ।  पछिल्लो चार आबमा अस्पतालबाट प्रसूति सेवा लिन आएकामध्ये  ८९ जनाले सामान्य प्रसूति सेवामार्फत नवजात शिशु जन्माएका हुन् ।

अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति सेवा उपलब्ध हुन थालेपछि जिल्लामा न्युन आय भएका गरिब तथा विपन्नस्तरको महिलालाई राहत पुर्‍याएको छ । पछिल्लो केही वर्षयता अस्पतालमा शल्यक्रिया उपकरण तथा एमडिजिपी चिकित्सकको व्यवस्थापन भएसँगै अस्पतालको शल्यक्रियाबाट प्रसूति गराउने सेवा प्रभावकारी बनेको हो ।

  प्रसूति हुन नसकेका गम्भीर अवस्थाका महिला र अन्यलाई आपत्कालीन सेवा २४ सैँ घण्टा अस्पतालले प्रवाह गरेको छ । यसअघि प्रसूति सेवा लिने आएका बिरामीलाई सामान्य प्रसूति मात्र गराउने सेवा रहेको हुँदा ठुलो आर्थिक भार खेप्दै सुगमका अस्पतालमा प्रेषण गर्नुपर्ने अवस्था रहेको थियो । पछिल्लो समय अस्पतालले क्रिटिकल अवस्थामा पुगेका महिलाहरूको सफलतापूर्वक शल्यक्रियाद्वारा प्रसूति गराइएको अस्पतालको भनाइ छ ।

चालु आवको नौ महिनामा प्रादेशिक अस्पतालबाट ओपिडी सेवा र आपत्कालन (इमर्जेन्सी) सेवा गरी सात हजार २१९ जनाले सेवा लिएका छन् । यसअन्तर्गत ओपिडी सेवा पाँच हजार ३१७ र र आपत्कालीन  सेवा एक हजार ९१२ जनाले प्राप्त गरेका छन् । रासस