एसइई उत्तीर्ण भएकी निवेदिताले मिठो सपना देखेकी छिन् । एसइईपछि उनी उच्च शिक्षा अध्ययनका लागि इलाम आइन् । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसभित्र पस्दा मनमा बेग्लै खालको खुसी र कुतूहलले लुकामारी खेल्दै थियो ।
पढाइ सुरु भएसँगै धेरै कुरा सुरु भयो । अभावका पानाहरू थपिँदै थिए । पाँचथरबाट इलाम आउँदाको आँटले बिस्तारै ठाउँ छोड्न खोज्दै थियो । डेराभाडा र सहरको महँगी गाउँघरको जस्तो थिएन । क्याम्पस जानु र आउनु मात्रै थिएन । अभावका रित्ता झोला धनबिना कसरी भर्ने !
बिहान धारामा पानी भर्न गएकी निवेदितालाई त्यही घरमा कहिलेकहीँ देखिने गरेको केटोले बोलायो । कुरा गर्दागर्दै उनले थाहा पाइन् घरपट्टीको छोरो रहेछ । परिचय गर्न खोज्दै उसले भन्यो, “मेरो नाम उज्ज्वल हो । म महेन्द्ररत्न कलेजमा पढ्छु । तिमीलाई पनि त्यही कलेजमा देखेको थिएँ । हामी त एउटै कलेजमा पढ्ने साथी पो रहेछौँ ।”
नयाँ ठाउँमा सबै नयाँ मान्छे भएका बेला घरपट्टीको छोरा पनि आफू पढ्ने कलेजमै थाहा पाएपछि निवेदिता एकाएक खुसी भएकी थिइन् । यसपछि उज्ज्वलले बेला बेलामा बोलाउँथ्यो । हाँसेर बोल्ने उसको बानीले निवेदिताको मन नतान्ने कुरै भएन । एक दिन कलेजबाट फर्कदै थिइन्, पछाडिबाट निवेदिता भनेर बोलाएको सुनेर फर्किन् । ऊ नजिकै आउन्जेल पर्खिन् । उसले एउटा बन्द खाम हातमा दिँदै भन्यो, “यसमा केही लेखिएको छ, पढेर जवाफ दिनु ।”
केही नबोली नै खाम समातिन् । कोठामा गएर ढोका बन्द गरिन् र खाम खोलिन् । प्रेमपूर्ण अभिव्यक्तिले भरिएको पत्र रहेछ । यिनलाई रातभरि निन्द्रा परेन । पटक पटक पत्र पढिन् र पनि जवाफ लेख्न भने उनका हात लागेनन् ।
सबैले भलाद्मी र सोझो केटो भनेर मन पराउने उज्ज्वलले पठाएको प्रेमपत्र पढ्दा मन रोमाञ्चित नभएको पनि होइन तर उनले जवाफ लेख्ने हिम्मत भने गर्न सकिनन् ।
त्यसको केही दिनपछि कलेजबाट निवेदिता कोठातर्फ फर्कदै थिइन् । उज्ज्वलले चियाबारीको बाटोमा निवेदितालाई एक्लै हिँडिरहेकी देखेर बोलायो । निवेदितालाई के गरौँ, कसो गरौँ भयो । एकाएक पाइला रोकिए । नजिकै आएको उज्ज्वलले छेउमै आएर सोध्यो, “मेरो चिठीको जवाफ खोइ ?”
“मैले लेख्न भ्याएकी छैन,” डराउँदै निवेदिताले जवाफ दिइन् । “नडराउ न, किन डराएकी ! मैले त तिम्रो मन बुझ्न खोजेको मात्रै हो,” उज्ज्वल हाँस्न थाल्यो ।
निवेदिताको अनुहार निचोरेको कागती जस्तै भएको छ । तत्काल केही भन्न सकिनन् । पटक पटकको प्रेम प्रस्तावलाई निवेदिताले स्वीकार गर्न बाध्य भइन् ।
उज्ज्वलसँग सुरु भएको प्रेमले उनलाई डर लागेको छ । पढाइ बिग्रने डरभन्दा पनि बुवाको चाहना सम्झँदा पीडाबोध भएको छ । डरत्रासको बिच एउटै घरमा बसेका उनीहरूको प्रेमरूपी जहाजले स्वप्नलोकको उडान गरिरहेको छ ।
एक दिन उज्ज्वलले आएर भन्यो, “आज आमाबुवा, मामा बिरामी हुनुभएकोले लहान जानुभयो । घरमा म एक्लै छु । भरे तिमी माथि आऊ है ।”
“नाइँ, म आउदिनँ,” निवेदिताले डराउँदै भनिन् ।
“म केही जान्दिन, तिमी जसरी पनि माथि आऊ,” उसले दबाबपूर्ण आग्रह गर्यो ।
झमक्क साँझ पर्यो । निवेदिताको मनमा चल्न थालेको हुरीले तनलाई नै उडाउला झैँ हुन थाल्यो ।
कसरी जानु एक्लै उसको कोठामा ? निवेदिताले मनमनै सोचिन् । जान्न बहाना बनाइदिन्छु । उनले म्यासेज गरिन्, “उज्ज्वल आज मलाई सञ्चो छैन । म आउदिनँ प्लिज ।”
के भयो तिमीलाई ? तिमी नआउने भए मै आउँछु । उसले जिद्धी गरिरह्यो । जिद्धी मात्र गरेको होइन, ऊ त ढोका ढकढक्याउन पो आइपुग्यो । अरू कोठामा बस्नेले देखे भने के भन्लान् ?
ढोकामै बस्नु कि भित्र नबोलाउने ? निवेदिता अन्यमनस्क ढोकामा उभिइरहिन् । उज्ज्वल भित्र छिरिसकेको थियो, पलङमा बस्दै मुस्कुरायो र भन्यो, “आज यो घरमा तिमी र म मात्र छौँ । जीवन काका पनि भद्रपुर छोरीको घर जानुभएको छ । म आए पनि तिमी आए पनि एउटै हो भन्ने सोचेर म नै आएँ ।”
निवेदिताले कुरालाई अन्तै मोड्दै भनिन्,
“खाना खानुभयो ?”
“खाएर आएको,” उज्वलले जवाफ दियो ।
मनभित्र प्रेमरूपी आगो दन्दनी बलेको छ । निवेदिता अन्योलमा छिन् । असाध्य माया गर्ने उज्ज्वल छेउमा बसेको छ । आफ्ना बाआमाको अनुहार झलझली आयो । घरबाट हिँड्ने बेलामा भनेका कुरा सम्झिन्, “तैँले हाम्रो इज्जतको ख्याल राख्नु । माटोले पोतेको घर छ हाम्रो, इज्जतमा कालो नपोत्नु,” जन्म दिने आमाका शब्द कानमा बजिरहेका छन् ।
सुनसान रातमा मधुर धून बजेको आभास उज्ज्वललाई भएको छ । निवेदिताको हात समाउँदै भन्यो, “कति चिसो तिम्रो हात । तिमीलाई डर लागेको त छैन नि ?”
छ, निवेदिताले सुस्तरी भनिन् । निवेदिताका गालामा सुस्तरी सुम्सुम्याउँदा झस्केर पछाडि सरिन् । पानीमा रङ घोलिए जस्तै उज्ज्वलको मनमा स्पर्शका रङ्गिन तरङ्ग उठ्न थाले ।
अनुहारको रङ बदलिँदै जान थाल्यो । नजिक, झन् नजिक आएको उज्ज्वलको तापको अनुभूतिले काउकुती लाग्न थालेको छ । पुरुष तापबाट अनभिज्ञ निवेदितालाई उज्ज्वलरूपी आगोले शनैःशनैः पगाल्दै छ । पग्लँदा पनि उत्सुकता र आनन्दानुभूति हुने रहेछ भन्ने निवेदितालाई आज थाहा भयो । उज्ज्वलले दुवै गालामा सुम्सुम्याउँदा रोक्न चाहेर पनि रोकिनन्, भाग्न चाहेर पनि भागिनन् ।
उनीहरू रातभरि निदाउन सकेनन् । बिहान ७ बजे मात्र उज्ज्वल उठेर गएपछि निवेदिताले निदाउने प्रयास गरिन् । निद्रा कसरी पो लागोस् । भित्रभित्रै डरको आगो दन्किरहेको थियो । न भाग्न सक्थिन्, न रोक्न सक्थिन्, न रोक्न नै चाहिन् । लगातार तीन दिन उनीहरू एउटै रुटिनमा चलिरहे । जब उज्ज्वलका बुवाआमा आए, अनि मात्र उनीहरू सतर्क हुन थाले ।
कुनै कुराको अभाव नबेहोरेको उज्ज्वलले सपनाको उडान भरिरहेको छ । निवेदितालाई पनि सँगै उडाइरहेको छ । उसले फाेन गर्दै भन्यो, “भोलि बिहान ७ बजे बिर्तामोड पुग्नु छ । म बिहान बिर्तामोड पुगेर फोन गर्छु अनि पर्सि आमाबुवालाई लिएर तिम्रो घरमा आउँछु, चिन्ता नगर ।” उज्ज्वलले आश्वासन र भरोसा अग्लिएको छ । “म तिमीसँग बिहे गर्न आतुर छु,” पटक पटक उसले भनेको छ ।
निवेदितालाई दुई दिन कसरी बित्छ जस्तो लागिरहेको छ । “हजुरलाई के थाहा मलाई कति डर लागेको छ । मेरो महिनाबारी रोकिएको छ । हजुरको माया र भरोसा छ तर पनि डर त लागिहाल्छ नि,” निवेदिताले भनिन् ।
“हो तिमीले भनेको ठिक हो । तिमीलाई पनि थाहा छ, कसैले तिम्रो नराम्रो सोचोस् भन्ने छैन । तिमी र मैले जीवन बिताउने हो । अरूको मतलब छैन मलाई,” उज्ज्वलले भनेको छ ।
निवेदितालाई घर जाने तयारी गर्नु छ । उता उज्ज्वल बिर्तामोडबाट आउँदै छ । बेलुकीको ४ बजिसकेको छ । आज घर पुगेर निवेदितासँग बिहे गर्नेबारे बुवाआमासँग भन्नु पनि छ । जति हतार गरे पनि ढिलो भइहाल्यो ।
कुटीडाँडाको घुमाउरो बाटोमा मोटरसाइकल अगाडि बढ्दै थियो । एक्कासि अगाडिबाट आएको जिपले ठक्कर दियो । उज्ज्वल उछिट्टिएर बाटोको छेउमा पछारियो । उसको टाउकोबाट बगेको रगतले सडक रक्ताम्य भयो । मोटरसाइकल भिरको ठुलो ढुङ्गामा ठोक्किएर थेचारिँदै तल झर्यो । ठक्कर दिएको जिप सडकमै रोकियो । मान्छे म-यो, मान्छे म-यो ।
सडकमा भिड लाथ्यो । प्रहरी आएर लासको मुचुल्का गरे । लासलाई भद्रपुर अस्पताल पठाइयो । बिहान मात्रै उज्ज्वलको घरमा खबर गयो ।
‘मौनता’ जीवनको महत्त्वपूर्ण हिस्सा बन्यो निवेदिताको । लाटी बनायो समयले कसैलाई केही भन्न सकिनन् । पेटमा उज्ज्वलको नासो बढिरहेको छ । उज्ज्वलले माया गरेको थियोे, उसको मायामा पाप थिएन । दुवै खुसी थिए । भाग्यमा उज्ज्वलको साथ थोरै लेखिएको रहेछ । त्यो प्रेम निश्चल थियो । उज्ज्वललाई पाउन नसके पनि उसको प्रेमको निशानीलाई अब के गर्ने ? पेटमा हुर्किदै गरेको बच्चाका लागि उसका बुवाआमासँग कुरा गर्ने हिम्मत जुटाउन सकिनन् । पटक पटक उज्ज्वलको आमालाई भन्न मन नलागेको पनि होइन तर आँट गर्न सकिनन् ।
“लाज नभएकी नकचरी, तलाई थाहा छैन बिहे नगरी भुँडी बोक्न हुन्न,” सधैँ माया गर्ने आमाको मुखबाट निस्केका शब्दले निवेदितालाई बक्क लाटी बनाउन रामवाणको काम गरेको हो ।
आमाका गहभरिका आँसु बगेर गालाको बाटो भएर छातीतिर झर्दा पनि निवेदिताले पुछिदिने आँट गरिनन् ।
“पापको पोको फालेर आइज,” बुवाको मुखबाट निस्केका शब्द उनका लागि गाली नभएर प्रेमपूर्ण थिए ।
सबैतिरबाट दुत्कारिएपछि गाउँमा नफर्किनु भनेर आमाले आधा रातमा बस चढाएर आफू फर्किन् । निवेदिता भोलिपल्ट बिहान गोङ्गबु बसपार्क, काठमाडौँमा ओर्लेकी थिइन् ।
हिँडिरहँदा कहाँ पुगेँ भन्ने पनि थाहा नहुने रहेछ । परीक्षामा कहिलै प्रथम हुन नसकेकी निवेदिता जीवनको परीक्षामा त फेल नै भएकी थिइन् । मनमा अनेक तरङ्ग उठिरहेका थिए । कसैलाई खुसी दिन सकिनँ । मायाको फूलबारी सजाउने मन थियो । बुवाआमाको प्यारी छोरी हुन्छु भन्ने सोचेकी थिएँ । कहिले दुःख दिन्नँ भन्ने सोचेकी थिएँ तर सधैँका लागि आँसु उपहार दिएर आएँ । भाग्य लेख्ने विधातालाई मेरो भाग्य लेख्ने बेलामा निद आएछ कि ! बारम्बार दुःख लेखेर छाडिदिए । भाग्यमा के लेखेको छ भन्ने जान्न सकिने रहेन छ ।
हिँड्दाहिँड्दै उनी टिचिङ अस्पताल पुगिसकेकी रहिछन् । मूल ढोकामा पुगेपछि कसैसँग ठोक्किन पुग्दा उसको अनुहारमा हेर्न मनै लागेन ।
“निवेदिता तिमी कहिले आयौ काठमाडौँ,” सौरभको स्वरले उनी झस्किन पुगिन् ।
“मेरी आमा बिरामी हुनुभएकाले उहाँ उपचार हुँदै छ । हेर्न जाऊँ,” सौरभले भनेपछि निवेदिता पछिपछि गइन् । एक घण्टा जति बसेपछि उनी उठिन् । सौरभले आमासँग केही समय बसिदिन आग्रह ग-यो।
सौरभकी आमाको स्याहार गर्ने मान्छेको खाँचो रहेछ । निवेदिताले नकार्न सकिनन् । एक महिना अस्पताल बसेर घर फर्कंदा निवेदिता सौरभकी आमाकी प्रिय छोरी भइसकेकी थिइन् । सहारा दुवै जनालाई चाहिएको थियो । निवेदिताले आफ्नो पीडा सुस्तरी सीता आमालाई सुनाइसकेकी थिइन् । सौरभ दिनभरि बाहिर हुने भएकाले सीताको स्याहार निवेदिताले नै गरिन् । आवश्यकताको अगाडि आमाछोरा चुप थिए । नत्र कुमारी आमा बन्न लागेकीलाई घरमा बास कसले दिन्थ्यो होला र ।
घरको सरसफाइदेखि खाना पकाएर ख्वाउने जस्ता सबै काम सक्दा रातिको ८ बज्थ्यो । निवेदिताको कामबाट खुसी भएर आमा भेट्न आएका सौरभका दिदीबहिनीले निवेदितालाई उपहार र पैसासमेत दिएका थिए । मासिक १० हजार रुपियाँ र खानबस्न दिएकाले थप पैसा खर्च हुँदैनथ्यो ।
महिना पुगेपछि निवेदिताकी छोरी जन्मिई । उनले छोरीको नाम उत्तरा राखिन् । सीता आमालाई उत्तराको जन्मले खुसी थप्यो । अबोध बालिकामा सीताआमाको प्रेम नजानिँदो गाढा हुँदै गयो । सीताआमाको भक्तपुरमा प्रशस्त जमिन थियो । सीताआमाले निवेदिताको अवस्था हेरेर चारआना जमिन पास गरिदिइन् ।
उत्तरा एक वर्षकी भएपछि सौरभको बिहे भयो । सौरभकी पनि छोरी जन्मिई । घरमा कामको बोझ झन् थपिँदै गएको थियो । निवेदिता बिहान सबेरै उठेर भान्सामा जान सकिनन् । सौरभलाई अफिस जान ढिलो भइसकेकाले ऊ चिच्याइरहेको थियो । सीताआमालाई तातोपानी चाहिएको छ । श्रेया भर्खर उठेर भान्सामा पसेर चिया पकाउन थालेकी थिइन् । बच्चा रोएको आवाजले घरमा कोकोहोलो मच्चिँदै थियो ।
सौरभीकी श्रीमती श्रेया रिसाएर निवेदितालाई गाली गर्न थालेपछि निवेदिता सकिनसकी उठेर भान्सामा आइन् । काम गर्दागर्दै बेहोस भएर ढलिन् । दुध डढेको गन्ध आएपछि सौरभ भान्सामा आउँदा निवेदिता भुइँमा लडिरहेकी देख्यो । निवेदितालाई बोकेर कोठामा लगेर सुतायो । सात दिनसम्म ओछ्यान परेपछि निवेदिताले अब यो घरमा नबस्ने निर्णय गरिन् । कसैले उनलाई रोक्न सकेनन् । सीताआमाले दिएको घडेरीमा सानो कटेरो बनाएर बस्नू भनेर केही पैसा पनि दिनुभयो ।
निवेदिताले दुई कोठाको सानो घर बनाएर सर्दा सीताआमा पनि खुसी हुँदै आएकी थिइन् । आमाछोरीको पेट पाल्न निवेदिताले नजिकैको म्यानपावर कम्पनीमा काम गर्न थालेकी थिइन् । त्यहाँ बस्दा कम्प्युटरसमेत चलाउन सिकिन् । काम गर्दै जाँदा साहुनीले खुसी भएर एउटा मोबाइल फोन पनि दिइन् । अब मोबाइल उनको साथी बनेको थियो ।
एकदिन मेनपावरमा प्रहरीले छापा मा-यो र सबैलाई समातेर लग्यो । सोधपुछ गरेपछि निवेदितालाई भने छाडिदियो । घरमा आएपछि निवेदितालाई छोरीको चिन्ताले सतायो । आँखाबाट आँसु झरिरहेको तस्बिर छोरीले खिचिरही । आमा रोएको तस्बिर फेसबुकमा पोस्ट गर्न छोरीले जिद्दी गर्न थाली । निवेदिताले भने त्यस्तो तस्बिर नहाल्न भन्दै छोरीलाई गाली गरिन् ।
छोरीले सोधी, “फेसबुकमा रोएको फोटो किन नहाल्ने ममी ?”
छोरीको प्रश्नले उनको मनमुटु हल्लाइदियो ।
उनले छोरीको अनुहारमा हेरिन् । छोरीको प्रश्नको जवाफ दिने सामर्थ्य नभएर उनी मौन बसिन् ।
मुस्कानले भरिएका तस्बिर हेरेर आहा कति राम्री !
भन्ने प्रतिक्रियाको लर्कोबिचमा बर्बरी आँसु खसालेको तस्बिर राख्ने हिम्मत नहुँदो रहेछ । सोचिरहिन्– मेरो खुसीमा खुसी हुने आफन्त मसँग पीडा साट्न डराउँछन् । म दुःखमा छु भन्ने थाहा पाएपछि सहयोग गर्छु भनेर आश्वासन दिनेहरू पनि हराउँछन् । हुन सक्छ, जीवनको फलामे ढोका भनेकै यही हो ।
आज एक्कासि हिम्मत गर्न मन लाग्यो । उनले लेखिन्, “जसले यी शब्द केलाएर पढ्नुहुन्छ, जीवनको पीडा भोग्न कठिन छ भन्ने थाहा होस् । मेरो मुस्कान मात्र होइन, आँसु पनि पढ्नुस् है ।”
मनभित्र उठेका तरङ्गलाई शान्त पार्न सकेकी छैनन् निवेदिताले । चाँदनी रातको कोमल स्पर्शले थाहा नपाई प्रेम जन्मायो । त्यो प्रेमले दिएको आत्मसन्तुष्टिसँगै अर्को कुरा पनि फाउमा दिएको थियो ‘उत्तरा’।
प्रश्नैप्रश्नबिचबाट अङ्कुरित प्रिय छोरी उत्तरा । ऊसँग छन् त केवल प्रश्न मात्र । उत्तर मैले दिन सक्दिनँ । आज पनि त्यहीँ प्रश्नको झटारो समाजले हानिरहेको छ । आफूलाई जन्माउने आमाबुवाको प्रश्नको समेत उत्तर दिन सकिनँ ! मलाई नै थाहा छैन, “मेरो प्रेम कसरी पाप भयो ? बुझ्ने भएपछि उत्तराले मलाई के भन्ली ?”