ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले पालिकाभित्र रहेका प्रहरी चौकीलाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाभित्र रहेका पाँच वटा प्रहरी चौकीलाई करिब तीन लाख रुपियाँ बराबरका विपद् व्यवस्थापन सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।
मौवाफाँट, पाखापानी, चिमखोला, भगवती र तिप्ल्याङ प्रहरी चौकीमा कार्यरत प्रहरीका लागि चेन्सा मेसिन, फायर एक्स्टिङ्गुइसर, डोरी, झोला, रेनसेट, गमबुट, ग्लोभ्स, सेफ्टी हेल्मेट, लाइफ ज्याकेटलगायतका सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन तथा प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रहरी चौकीका इन्चार्जलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विपद्को समयमा नागरिकको सुरक्षामा खटिने सुरक्षा निकायलाई आवश्यक सामग्री उपलब्ध गराइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विपद्को समयमा नागरिकको सुरक्षामा खटिने प्रहरीलाई आवश्यक स्रोत–साधनयुक्त बनाउन तथा तत्काल उद्धार कार्य सहज होस् भनेर सामग्री प्रदान गरेका छौँ । यसले उद्धार कार्यमा प्रहरी परिचालन गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।”
अध्यक्ष भण्डारीले विगतदेखि नै पालिकामातहतका प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
गाउँपालिकाका विपद् व्यवस्थापन शाखाका फोकल पर्सन दयाराम पौडेलका अनुसार गत वर्ष पनि पालिकाले प्रहरी चौकीहरूलाई बेल्चा, गैँती, गल, हाते आरी, हँसिया, बन्चरोलगायतका विपद् व्यवस्थापन सामग्री उपलब्ध गराएको थियो ।
यस वर्ष प्रहरीले नागरिकको घरदैलोमा टाँस गर्ने सुरक्षासम्बन्धी सन्देशमूलक स्टिकर छपाइमा समेत गाउँपालिकाले सहयोग गरेको थियो । साथै आफ्नै भवन नभएका पाखापानी र तिप्ल्याङ प्रहरी चौकीको घरभाडासमेत गाउँपालिकाले भुक्तानी गर्दै आएको छ ।