• १६ वैशाख २०८३, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ को उपाधि विजेता टोली कुन हो ?

त्रिभुवन आर्मी क्लब 

त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै अपराजित यात्राका साथ तेस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि चुमेको ।


२. सशस्त्र प्रहरी बल, नेपालको १३ औँ महानिरीक्षकमा नियुक्त हुन सफल व्यक्तित्व को हुनुहुन्छ ? 

नारायणदत्त पौडेल

नियुक्ति मिति : २०८३ वैशाख १४ गतेको मन्त्रीपरिषद् निर्णय (कार्यकाल सुरु : १८ वैशाख २०८३ बाट) 

नेपाल प्रहरीबाट सेवा सुरु गरी सशस्त्र प्रहरीमा स्थानान्तरण हुनुभएका पौडेलले ३० बर्से सेवा हदका कारण १८ चैत २०८४ सम्म सङ्गठनको नेतृत्व गर्नुहुने । 

३. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा २०८३ वैशाख १५ मा सार्वजनिक वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार आव २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

३.८५ प्रतिशत 

वृद्धिदर सामान्य रहे पनि नेपाली अर्थतन्त्रको समग्र आकार भने विस्तार भएर ६६ खर्ब रुपियाँ पुग्ने प्रक्षेपण रहेको ।

गत आवमा ४.६१ प्रतिशत वृद्धिदरसहित अर्थतन्त्र ६१ खर्ब सात अर्ब रहेकोमा यस वर्ष वृद्धिदर केही खुम्चिए पनि अर्थतन्त्रको कुल आयतन भने बढेको ।

यो तथ्याङ्क चालु आवको सुरुवाती आठ महिनाको वास्तविक तथ्याङ्क (रियल डेटा) र बाँकी चार महिनाको अनुमानमा आधारित छ ।


४. सञ्चार प्रविधिका क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्दै हालै कुन देशले विश्वकै पहिलो ‘प्रि–सिक्सजी’ परीक्षण नेटवर्क सञ्चालनमा ल्याएको छ ?

चीन (सन् २०२६ अप्रिल) 

मुख्य उपलब्धि : विश्वकै पहिलो ‘प्रि–सिक्सजी’ परीक्षण नेटवर्कको शुभारम्भ ।

प्रमुख क्षमता : हाल प्रचलनमा रहेको फाइभजीभन्दा १० गुणा बढी ।

प्राविधिक विशेषता : 

उच्च ब्यान्डविथ र न्यूनतम ढिलाइ (लो लेटेन्सी) ।

आर्टिफिसियल इन्टेलिजेन्सको सहज एकीकरण ।

लामो दुरीको कभरेज र प्रणालीगत प्रमाणीकरण ।


५. कर्मचारीलाई योग्यता, क्षमता, कार्यसम्पादन, अनुभव र दक्षताका आधारमा एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने वा जिम्मेवारी दिने प्रक्रियालाई के भनिन्छ ?

मेरिटमा आधारित सरुवा तथा पदस्थापन (मेरिट–बेस्ड ट्रान्सफर एन्ड प्लेसमेन्ट)

नेपालमा नयाँ सरकारद्वारा (विसं २०८२ चैत महिनादेखि) यसको सुरुवात गरिएको ।

मुख्य आधार : राजनीतिक दबाब, पहुँच, व्यक्तिगत सम्बन्ध वा पक्षपातका आधारमा नभई विशुद्ध कार्यसम्पादन र योग्यताका आधारमा कर्मचारीको नियुक्ति वा सरुवा गरिने ।

अन्तर्राष्ट्रिय अभ्यास : योग्यता प्रणालीमा आधारित यो अभ्यास विशेष गरी विकसित मुलुकमा बढी प्रचलनमा रहेको पाइने । 


६. ‘भोदी’ खेल विशेष गरी कुन जाति/समुदायसँग सम्बन्धित रहेको छ ? 

थारू 

थारू समुदायको संस्कृति तथा पहिचानका रूपमा रहेको मौलिक खेल भोदीको प्रवर्धन तथा विकास गर्ने उद्देश्यले २०८२ चैत २८ र २९ गते पूर्वी नवलपरासीको डन्डामा यस खेलको राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको । 


७. २० औँ एनएनआइपिए स्पोट्र्स अवार्ड–२०८२ अन्तर्गत ‘सर्वोत्कृष्ट खेलाडी’ को अवार्डबाट सम्मानित हुने खेलाडी को को हुन् ?

पुरुषतर्फ स्यान्टु श्रेष्ठ (टेबलटेनिस) र महिलातर्फ एरिका गुरुङ (कराँते) ।


८. सरकारले समस्याग्रस्त सहकारीका कति रुपियाँसम्म बचत भएका सदस्यलाई ‘बचत तथा कर्जा सुरक्षण कोष’ मार्फत रकम फिर्ता गर्ने निर्णय गरेको छ ?

पाँच लाख रुपियाँसम्म 

घोषणाको आधार : विसं २०८२ चैत १५ गते सार्वजनिक गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ ।

रकम फिर्ताको प्रत्याभूति : सम्पत्ति असुली नभए पनि पाँच लाखसम्म फिर्ता हुने कानुनी ग्यारेन्टी (तर पाँच लाखभन्दा माथिको बचत भने दामासाहीका आधारमा वितरण गरिने) ।

नयाँ संरचना निर्माण : हालको सहकारी विभाग खारेज गरी नयाँ ‘सहकारी नियमन प्राधिकरण’ स्थापना गरिने । साथै प्रत्येक समस्याग्रस्त सहकारीका लागि छुट्टै ‘टास्क फोर्स’ र ‘एसेट म्यानेजमेन्ट कम्पनी’ बनाइने ।


९. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ? 

भण्डारखाल पर्व 


१०. ‘दी डार्क क्लाउड’ नामक औपन्यासिक कृतिका सर्जक को हुन् ?

बङ्गलादेशी लेखिका जहाँआरा 


११. नेपाल नगरपालिका सङ्घको ३३ औँ स्थापना दिवसका अवसरमा ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ बाट कुन नगरपालिकालाई सम्मानित गरिएको छ ?

मन्थली नगरपालिका (रामेछाप) 

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालद्वारा प्रदान गरिएको ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठद्वारा पुरस्कार ग्रहण ।

आव २०८१/८२ मा स्थानीय आर्थिक विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहमा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मानित ।

काठमाडौँमा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको । 


१२. निवृत्तभरण (पेन्सन) लिने सेवाग्राहीले घरैबाट पेन्सन नवीकरण गर्न सक्ने गरी ‘ई. पेन्सन प्रमाणीकरण’ प्रणालीको सुरुवात कहिले गरिएको हो ?

विसं २०८२ चैत २७ 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा शुभारम्भ । 

प्रणाली विकास गर्ने निकाय : महालेखा नियन्त्रकको कार्यालय ।

हाल प्रत्यक्ष लाभान्वित : साढे तीन लाखभन्दा बढी (तीन लाख ५२ हजार ८१६ जना) ।

पेन्सन नवीकरणका लागि बैङ्क वा निवृत्तभरण कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य । सुशासन र मितव्ययिता कायम हुने ।

पेन्सन रकम र करको म्यानुअल गणना गर्दा हुने मानवीय त्रुटिको अन्त्य ।

समयमै नवीकरण हुने भएकाले सरकारको ढुकुटीमा हुने नगद प्रवाह अनुमानयोग्य भई आर्थिक व्यवस्थापन गर्न सहज हुने ।


१३. सरकारले तर्जुमा गरेको एक सयदिने कार्यसूची अनुसार आगामी पाँच वर्षमा कति रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको छ ?

१५ लाख 

आर्थिक वृद्धि : आगामी पाँच वर्षभित्र औसत आर्थिक वृद्धिदर सात प्रतिशत पु¥याइने । 

प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर र जिडिपी एक सयअर्ब डलरनजिक पु¥याइने ।

गरिबी निवारण : हालको बहुआयामिक गरिबीलाई घटाएर १० प्रतिशत कायम गर्ने ।


१४. विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८२ बाट सम्मानित हुने कलाकार को हुनुहुन्छ ? 

शम्भुजित बाँसकोटा (सङ्गीतकार/गायक) 

पुरस्कार राशि : रु. एक लाख

आयोजक : विन्ध्यवासिनी फाउन्डेसन

स्थान : राष्ट्रिय नाचघर, जमल, काठमाडौँ

विधा सङ्ख्या : १२ प्रतिस्पर्धात्मक विधा र पाँच विशिष्ट सम्मान

विशिष्ट सम्मान तथा पुरस्कार राशि

विन्ध्यवासिनी सङ्गीत साधना सम्मान : गीतकार विजय शिवाकोटी (रु. ५० हजार) 

प्रेमध्वज सङ्गीत रत्न सम्मान : गायिका रचना रिमाल (रु. २५ हजार) 

झलकमान लोकसङ्गीत सम्मान : लोकगायक पशुपति शर्मा (रु. २५ हजार) 

विन्ध्यवासिनी कला पत्रकारिता सम्मान : पत्रकार पवन आचार्य (रु. २५ हजार) 


१५. पहिचान विशेष सम्मान २०८२ बाट सम्मानति हुने स्रष्टा को हुनुहुन्छ ?   

प्राज्ञ वैरागी काइँला

पुरस्कार राशि : रु. पाँच लाख (आयामेली आन्दोलनका प्रणेता एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति)

प्रदान गर्ने संस्था : पहिचान पुरस्कार कोष ।

त्यस्तै गेलु रातोसाललाई पहिचान युवा सम्मान (रु. ५० हजार) प्रदान गरिएको । 

यसअघि पहिचान विशेष सम्मानबाट राजु स्याङ्तान सम्मानित हुनुभएको । 


१६. हालै सरकारले नागरिक एपमा कुन कुन व्यक्तिगत पञ्जीकरणका सूचना एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ ?

जन्म, विवाह र सम्बन्धविच्छेदसम्बन्धी दर्ता ।

जन्म, विवाह र सम्बन्धविच्छेद जस्ता राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकृत गरिने भएको । 

लक्ष्य : डिजिटल सुशासन सुदृढ गर्ने र नागरिक सेवालाई अनलाइन माध्यमबाट तीव्र बनाउने ।

अन्तिम चरणमा रहेका अन्य सेवा : निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगको परीक्षार्थी प्रवेशपत्र, वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी) । 


१७. नेपाली चिकित्सा जगत्मा आधुनिक शल्यक्रिया र न्युरो सर्जरी सेवाको जग बसाल्ने विशिष्ट चिकित्सक प्राडा दिनेशनाथ गङ्गोलको निधन कहिले भएको हो ? 

विसं २०८३ वैशाख ८ (९२ वर्षको उमेरमा)

उपकरण र पूर्वाधार अभावका बिच सन् १९६० को दशकमा वीर अस्पतालबाट जटिल मस्तिष्क शल्यक्रिया सुरु गरी नेपालमै विशेषज्ञ उपचार सम्भव बनाउने उहाँ एक युग प्रवर्तक चिकित्सक हुनुहुन्थ्यो ।

विशेष पहिचान : नेपालमा आधुनिक न्युरो सर्जरी सेवा सुरु गर्ने प्रथम चिकित्सक ।

सेवा र अनुभव : वीर अस्पतालमा करिब चार दशक सेवा । जीवनकालमा ४० हजारभन्दा बढी सफल शल्यक्रिया गरेको अभूतपूर्व कीर्तिमान ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थापना र विकासमा नेतृत्वदायी भूमिका ।

प्रस्तुतकर्ता : टङ्क केसी