सिराज खान
नेपालगन्ज, वैशाख १६ गते । नेपालगन्जमा सडक खाना महोत्सव सफलतापूर्वक सम्पन्न भएलगत्तै पाँचतारे होटल सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगन्जले पहिलो पटक ‘थारु फूड फेस्टिभल’ आयोजना गर्न लागेको छ ।
सो विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा थारु समुदायको मौलिक स्वाद र सांस्कृतिक सम्पदालाई उत्सवका रूपमा प्रस्तुत गर्न नेपालगन्जस्थित होटल परिसरमा तीन दिने ‘थारु फूड फेस्टिभल’ आयोजना गरिने सोल्टी होटलका महाप्रबन्धक राजविक्रम शाहले बताउनुभयो ।
उहाँका अनुसार वैशाख १७ देखि १९ गतेसम्म सोल्टी होटल नेपालगन्जमा फेस्टिभल आयोजना गरिनेछ । फेस्टिभलमा अनुभवी सेफहरूले तयार पारेका विभिन्न परम्परागत थारु परिकारहरू प्रस्तुत गरिनेछ ।
महाप्रबन्धक शाहका अनुसार फेस्टिभलमा थारु परिकारसँगै थारु संस्कृति र परम्परालाई झल्काउने वातावरणसमेत सिर्जना गरिनेछ । कार्यक्रमको उद्देश्य पाहुनाहरूलाई थारु खानाको समृद्ध परम्परासँग परिचित गराउनुका साथै स्थानीय बासिन्दा र आगन्तुकलाई यसको विशेष स्वाद, प्रस्तुति र सांस्कृतिक महत्त्व अनुभव गर्ने अवसर प्रदान गर्नु रहेको उहाँले जानकारी दिनुभयो ।
फेस्टिभल सबैका लागि पहुँचयोग्य बनाउन प्रवेश निःशुल्क रहने होटलले जनाएको छ । साथै, सो अवसरमा पाहुनाहरूले पाँच सय रुपियाँका “रिडिम गर्न मिल्ने” फूड भाउचर खरिद गर्न सक्नेछन्, जसबाट कार्यक्रममा उपलब्ध परिकारहरूको स्वाद लिन सकिनेछ ।
सांस्कृतिक अनुभवलाई अझ समृद्ध बनाउन हरेक साँझ ९ देखि १० बजेसम्म थारु सांस्कृतिक नृत्य प्रस्तुत गरिने पनि होटल व्यवस्थापनले जनाएको छ ।
दुई दिनअघि मात्र होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल (हान) ले संयुक्त रूपमा नेपालगन्जमा तीन दिने सडक खाना महोत्सव आयोजना गरेका थिए । सो महोत्सवमा अपेक्षाभन्दा बढी करिब ३५ हजार दर्शकले अवलोकन गरेका थिए ।