• ५ जेठ २०८३, मङ्गलबार

राष्ट्र बैँकद्वारा ४० अर्ब निक्षेप सङ्कलन गरिँदै

blog

काठमाडौँ, वैशाख १६ गते । नेपाल राष्ट्र बैँकले आज (बुधबार) ४० अर्ब रुपियाँ निक्षेप सङ्कलन गर्ने भएको छ । अधिक तरलता कायम रहेपछि राष्ट्र बैँकले आज पुनः निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत तरलता खिच्न लागेको हो ।

हाल कुल निक्षेप ७८ खर्बभन्दा बढी पुगेको छ । केन्द्रीय बैँकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा ब्याजदर सन्तुलनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैँकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा बोल गरिएको ब्याजदर अनुसार सबैभन्दा कम दर बोल गर्ने प्रस्तावलाई प्राथमिकता दिई आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिने छ ।

बोलकबोल अनलाइन प्रणालीमार्फत हुने छ र ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने छ । आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज २०८३ असार ३ गते भुक्तानी हुने राष्ट्र बैँकले जनाएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपियाँ र अधिकतम ५ करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुने छ ।

केन्द्रीय बैँकको खुला बजार कारोबारसम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन र बजार ब्याजदर सन्तुलनका लागि कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिनासम्मको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार राष्ट्र बैँकले पटक–पटक निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ ।