गुणबहादुर रोका
सुलीकोट, वैशाख १६ गते । गोरखाको ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बडाकाजी अमरसिंह थापाको जन्मस्थल सिरानचोक गाउँपालिकामा प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले श्रीनाथमण्डली क्षेत्रमा पुग्ने पाँच वटा पदयात्रा मार्ग निर्धारण गरिएको छ । गाउँपालिकाले लालीगुराँसले ढकमक्क ढाकिएको डाँडाकाँडा, हरियाली वनजंगल र मनोरम दृश्यावलोकनलाई केन्द्रमा राख्दै यी रुट तयार गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित विभिन्न स्थानबाट श्रीनाथमण्डली पुग्ने पाँच वटा फरक पदमार्ग पहिचान गरिएको हो ।
पालिकाका वडा नं. २, ५, ६ र ७ का विभिन्न स्थानबाट श्रीनाथमण्डली जाने पदमार्गहरू निर्धारण गरिएको छ । “यी रुटहरू प्राकृतिक रूपमा सुन्दर मात्र नभई स्थानीय संस्कृति, जीवनशैली र जैविक विविधताको अनुभव गर्ने अवसर पनि दिन्छन्,” उहाँले भन्नुभयो ।
अहिले पनि पदयात्रामा सहभागी भएका सयौँ पदयात्रीहरूले वसन्त ऋतुमा फुलेका राताम्य र सेताम्मे लालीगुराँसको दृश्यावलोकन गर्दै यात्रा सम्पन्न गरेका छन् । उकालो–ओरालो, वनपाखा र खोचहरू पार गर्दै अघि बढ्दा यात्रुले प्रकृतिसँगको आत्मीयता अझ नजिकबाट अनुभूति गरेको सिरानचोक गाउँपालिका–४ का आन्तरिक पर्यटक शुभम गुरुङले बताउनुभयो ।
कतिपय स्थानमा चराचुरुङ्गीको मधुर आवाज र चिसो हावाले यात्रालाई थप रोमाञ्चक बनाएको भन्दै उहाँले श्रीनाथमण्डलीमा आएर मन शान्त पार्न सबैलाई आग्रह गर्नुभयो ।
स्थानीय बासिन्दाले पनि यस पहललाई सकारात्मक रूपमा लिएका छन् । पदयात्राका कारण गाउँमा आर्थिक गतिविधि बढ्दै गएको र होमस्टे तथा स्थानीय उत्पादनको बजारमा व्यापारिक चहलपहल बढेको सिरानचोक गाउँपालिका–४ का व्यापारी कृष्ण श्रेष्ठले बताउनुभयो ।
स्थानीय उत्पादनको बजार विस्तारसँगै पर्यटक आगमनले यस क्षेत्रको पहिचान अझ व्यापक हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् ।
गाउँपालिकाले आगामी दिनमा यी पदमार्गमा संकेत चिन्ह राख्ने, विश्रामस्थल निर्माण गर्ने र सरसफाइमा विशेष ध्यान दिने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो ।
श्रीनाथमण्डली क्षेत्रलाई गोरखाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियानले प्रकृतिप्रेमी पर्यटकका लागि नयाँ आकर्षण थप्ने गाउँपालिकाको विश्वास छ ।