• १६ वैशाख २०८३, बुधबार

सभामुख अर्याल र राष्ट्रसङ्घीय संयोजक याहियाबिच भेटवार्ता, जलवायु न्याय र युवा सहभागितामा जोड

blog

सभामुख डोलप्रसाद अर्याल (दायाँ) र नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक लिला पिटर्स याहियाबिच शिष्टाचार भेटवार्ता हुँदै । तस्बिर : सभामुखको सचिवालय

काठमाडौँ, वैशाख १६ गते । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक लिला पिटर्स याहियाबिच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबिचको सहकार्य, युवा सहभागिता, लैङ्गिक समानता, शिक्षा तथा जलवायु परिवर्तनका विविध पक्षमा विस्तृत छलफल भएको छ ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल सरकार र सङ्घीय संसद संयुक्त राष्ट्रसङ्घसँगको समन्वय र सहकार्यका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले पछिल्लो आम निर्वाचनपछि प्रतिनिधि सभामा युवाहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता हुनु नेपालको लोकतान्त्रिक अभ्यासको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो । सभामुख अर्यालले 'जेनजी' पुस्ताको सक्रिय भूमिकाले संसदलाई थप ऊर्जावान् बनाएको बताउँदै अबको प्राथमिकता विकास, सुशासन र परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

समावेशी लोकतन्त्र सुदृढीकरणका लागि महिला सहभागिता अपरिहार्य रहेको चर्चा गर्दै उहाँले वर्तमान संवैधानिक व्यवस्थालाई थप बलियो बनाउँदै भविष्यमा महिला–पुरुषको ५०–५० प्रतिशत प्रतिनिधित्वतर्फ उन्मुख हुने लक्ष्य रहेको जानकारी दिनुभयो ।

सभामुख अर्यालले जलवायु परिवर्तनको गम्भीर असरबारे चर्चा गर्दै नेपाल न्यून कार्बन उत्सर्जन गर्ने राष्ट्र भए तापनि हिमालहरू पग्लिने र विपद्का घटना बढ्नेजस्ता ठुला समस्या भोगिरहेको बताउनुभयो । 

उहाँले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायका लागि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै पर्वतीय पारिस्थितिकीय प्रणालीको संरक्षणमा अन्तर्राष्ट्रिय समुदायको थप सहयोगको अपेक्षा गर्नुभयो । 

साथै, शान्ति स्थापना मिसनमा नेपालको अग्रणी योगदानको स्मरण गर्दै उहाँले अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धिहरूका सन्दर्भमा राष्ट्रिय हित अनुरूप अध्ययन गरी उपयुक्त निर्णय लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

भेटमा आवासीय संयोजक याहियाले संयुक्त राष्ट्रसङ्घका महासचिव र नेपालस्थित युएन टिमको तर्फबाट सभामुख अर्याललाई बधाई ज्ञापन गर्दै नेपालको लोकतान्त्रिक उपलब्धिको प्रशंसा गर्नुभयो । 

उहाँले धेरै मुलुकहरूमा युवा आन्दोलन भए तापनि नेपालमा जस्तो संसद् र सरकारमै युवाहरूको संस्थागत प्रतिनिधित्व हुनु विश्वकै लागि उदाहरणीय भएको धारणा राख्नुभयो । याहियाले नेपालमा लैङ्गिक समानता र समावेशिताका क्षेत्रमा भएको प्रगति सकारात्मक रहेको बताउँदै कानुन निर्माण र क्षमता अभिवृद्धिमा राष्ट्रसङ्घले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शिक्षा क्षेत्रको चुनौतीबारे चर्चा गर्दै उहाँले विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या र शैक्षिक गुणस्तरमा सुधार ल्याउन मानव पूँजी विकासमा लगानी बढाउनुपर्ने सुझाव दिनुभयो । हिमाली क्षेत्रको भ्रमण अनुभव साझा गर्दै आवासीय संयोजक याहियाले हिमाल तथा हिमताल पग्लिने क्रम 'नाटकीय र चिन्ताजनक' रहेको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनले रैथाने कृषि र सांस्कृतिक सम्पदामा पारेको असर न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घले साधारण सभा र विभिन्न प्रस्तावमार्फत नेपाललाई जलवायु न्याय र दिगो विकासका क्षेत्रमा आवश्यक सहयोग गर्ने पुनः दोहोर्‍याउनुभयो ।