• १६ वैशाख २०८३, बुधबार

‘लाली बजार’ को प्रदर्शन रोक्ने आदेशविरुद्ध चलचित्रकर्मी सडकमा

blog

प्रदर्शनमा सहभागी कलाकार ।

काठमाडौँ, वैशाख १६ गते । उच्च अदालत पाटनले चलचित्र ‘लाली बजार’ को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चलचित्रकर्मीहरू आन्दोलित भएका छन् ।

मङ्गलबार उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले कारण देखाऊ आदेशसहित चलचित्र प्रदर्शन तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि निर्माण समूहसहित चलचित्रकर्मीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

निर्माता तथा अभिनेता निश्चल बस्नेतले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई साहित्य र कलालाई दृश्यका रूपमा प्रस्तुत गर्ने सशक्त माध्यम भएको बताउनुभयो । उहाँले चलचित्र निर्माण संविधान र सेन्सर बोर्डको नीतिअनुसार गरिएको दाबी गर्दै सम्बन्धित समुदायसँग पटक–पटक छलफल गरेर ‘स्व–सेन्सरसिप’ अपनाइएको स्पष्ट पार्नुभयो । बस्नेतले मुद्दा दायर गर्ने पक्षलाई सेन्सर हुनुअघि नै चलचित्र देखाइएको उल्लेख गर्दै अदालतले विषयको गम्भीरता बुझिदिनुपर्नेमा जोड दिनुभयो ।

यम थापा निर्देशित चलचित्र ‘लाली बजार’ वैशाख १८ गतेदेखि प्रदर्शनको तयारीमा थियो । बादी समुदायका महिलाको सङ्घर्षको कथामा आधारित यस चलचित्रले कुनै सम्प्रदायको मानमर्यादा र आत्मसम्मानमा आघात पुर्‍याउन सक्ने भन्दै परेको रिटमा अदालतले वैशाख २२ गतेसम्मका लागि प्रदर्शनमा रोक लगाएको हो ।