काठमाडौँ, वैशाख १४ गते । रुवान्डामा जारी आइसिसी महिला टी–२० च्यालेन्ज कपमा नेपाल अमेरिकासँग पुन: पराजित भएको छ ।
रुवान्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा आइतबार राति सम्पन्न खेलमा नेपाल अमेरिकासँग सात विकेटले पराजित भयो ।
डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा यसअघि पहिलो भेटमा नेपालले अमेरिकासँग ४४ रनको हार खेपेको थियो ।
जितका लागि नेपालले दिएको ८७ रनको सामान्य लक्ष्य अमेरिकाले ११.५ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । अमेरिकाका लागि इसानीले अविजित रहँदै सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै पूजा गणेशले २० र ग्रागी भोग्लेले अविजित १२ रन बनाउनुभयो ।
बलिङमा नेपालकी मनिशा उपाध्याय, पूजा महतो र कप्तान इन्दु बर्माले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ८६ रन बनाएको थियो ।
नेपालका लागि रुवि पोदारले अविजित रहँदै सर्वाधिक ५१ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा अमेरिकाका माही माधवन र रितु सिंहले दुई दुई तथा अदितिबा र सैनावीले एक एक विकेट लिनुभयो । जितसँगै पाँच खेलबाट आठ अङ्क बनाएको अमेरिका शीर्षस्थानमा छ । नेपालले समान खेलबाट चार अङ्क बनाएको छ ।
नेपालले अब छैटौँ खेल मङ्गलबार रुवान्डासँग खेल्ने छ । त्यसपछि नेपालले वैशाख १७ गते भानुआटुसँग र अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ । पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्ने छ ।