काठमाडौँ, जेठ ३ गते ।उच्च रक्तचापलाई नियन्त्रणमा राख्न नियमित जाँच गर्न आग्रह गरिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशन डा।अजुज भट्टचनले विश्व उच्च रक्तचाप दिवसको अवसरमा उच्च रक्तचापलाई नियन्त्रणमा राख्न नियमित जाँच गर्न आग्रह गर्नु भएको हो ।
उहाँले रोग समयमै पहिचान रोकथाम र नियन्त्रण गर्न नियमित जाँच गर्न आग्रह गर्नुभएको हो ।उच्च रक्तचाप विश्वव्यापी रूपमा एक गम्भीर जनस्वास्थ्यको समस्याका रुपमा देखा परेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल विश्वभर करिब १।५ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् ।प्रभावितमध्ये धेरैलाई आफूमा रोग भएको जानकारीसमेत नभएको उल्लेख गरिएको छ ।
दक्षिण एसियाली क्षेत्रमा उच्च रक्तचापको समस्या थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगबाट हुने गरेको छ ।
तीमध्ये मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट मात्र २७।३६ प्रतिशत मृत्यु हुने गरेको र त्यसको प्रमुख कारण उच्च रक्तचाप रहेको महाशाखाले जनाएको छ ।
राष्ट्रिय स्टेप्स सर्वेक्षण २०७६ र ७७ अनुसार नेपाली वयस्कमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको सूचनामा उल्लेख छ । बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, धूमपान, मद्यपान, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरणका कारण उच्च रक्तचापको जोखिम बढिरहेको जनाइएको छ ।
उच्च रक्तचापलाई “मृत्युको मौन कारक” पनि भनिन्छ ।उहाँका अनुसार धेरै व्यक्तिमा स्पष्ट लक्षण नदेखिने भएकाले समयमै पहिचान र उपचार नहुँदा मुटुरोग, हृदयाघात, मस्तिष्कघात, मिर्गौला रोगलगायत जटिल स्वास्थ्य समस्या निम्तिन सक्छ ।
उहाँले नसर्ने रोगको रोकथाम, पहिचान र व्यवस्थापनका लागि जनचेतना फैलाउन तथा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
३० वर्षमाथिका सबै व्यक्तिलाई वर्षमा कम्तीमा एकपटक रक्तचाप जाँच गर्न, नुन, चिल्लो तथा प्रशोधित खाना कम खान, ताजा फलफूल र तरकारी सेवन बढाउन, दैनिक कम्तीमा ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्न तथा धुम्रपान र मद्यपानबाट टाढा रहन उहाँको सुझाव छ ।
चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गरिरहेका बिरामीलाई औषधी नियमित सेवन गर्न उहाँले अनुरोध गर्नुभयो ।“उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ: जाँच गरौँ नियमित रक्तचाप; परास्त गरौँ मृत्युको मौन कारक” भन्ने नारासहित विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ ।