• २ जेठ २०८३, शनिबार

तिलागुफामा दुर्लभ रेडपाण्डा भेटियो

blog

तिलागुफा नगरपालिका–१० को रुडुक्षेत्रमा भेटिएको दुर्लभ रेडपान्डा । तस्विर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, जेठ २ गते  । कालीकोट जिल्लाको तिलागुफा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको छ । तिलागुफा नगरपालिका–१० स्थित रेडपान्डा संरक्षण वन क्षेत्र रुडुबञ्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेडपान्डा फेला परेको हो ।

रातो रङको शरीर, कालो खुट्टा तथा सेतो अनुहार भएको रेडपान्डा नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने लोपोन्मुख एवम् संरक्षित वन्यजन्तु हो । तिलागुफा क्षेत्रको जङ्गल तथा प्राकृतिक वातावरण रेडपान्डाका लागि उपयुक्त बासस्थान भएको र पछिल्लो समय वन क्षेत्रमा वन्यजन्तुको गतिविधि बढ्दै गएको स्थानीय बासिन्दा धीरेन्द्र थापाले बताउनुभयो । कालीकोटको तिलागुफा नगरपालिका, महावै र शुभकालिका गाउँपालिकालाई रेडपान्डाको मुख्य संरक्षित क्षेत्रका रूपमा मानिएको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि रेडपान्डा रैथाने रूपमा रहेको स्थानीय बासिन्दाको भनाइ छ । हाल यस क्षेत्रमा रेडपान्डा नेटवर्क र हुरेन्डेक नेपाल कालीकोटको साझेदारीमा रेडपान्डा संरक्षणसम्बन्धी विशेष कार्यक्रम सञ्चालन भइरहेको छ । संस्थाले समुदायलाई संरक्षणमा लाग्न सचेतना जगाउने र बासस्थानका रूपमा रहेका निगालो एवम् बाँसको जङ्गल नमस्न स्थानीयलाई आग्रह गर्दै आएको छ ।

हुरेन्डेक नेपालका जिल्ला संयोजक दिलीपकुमार शाहीले तीन वटा पालिकामा संरक्षणको क्षेत्रमा प्रभावकारी काम भइरहेको र अन्य पालिकाका नागरिकले समेत आफ्नो क्षेत्रमा रेडपान्डा रहेको जानकारी दिने गरेको बताउनुभयो । नेपालमा रेडपान्डा लोपोन्मुख वन्यजन्तुको सूचीमा छ । विशेष गरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्ने यो जनावर वातावरणीय सन्तुलनका लागि महत्त्वपूर्ण मानिन्छ ।