• ७ वैशाख २०८३, सोमबार

घरपरिवार र आयोजक टिम भलिबल फाइनलमा प्रवेश

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख ७ गते ।
नयाँ वर्षको अवसरमा धवलागिरी गाउँपालिका–३, फलियागाउँस्थित लक्ष्मीनारायण जनशान्ति बाल क्लबले आयोजना गरेको खेलकुद प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ । क्लबले नयाँ वर्षको अवसरमा आयोजना गरेको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमअन्तर्गत भलिबल र बास्केटबल प्रतियोगिताको फाइनल समिकरण आइतबार पूरा भएको हो ।

भलिबलतर्फ आयोजक लक्ष्मीनारायण जनशान्ति बाल क्लब र घरपरिवार भलिबल टिम फाइनलमा प्रवेश गरेका छन् । आयोजक टिमले ताकमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । सेमिफाइनलमा आयोजक टिमले १४–२५, २५–२०, २५–१८ र २६–२४ को सेटमा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको क्लब अध्यक्ष रोशन भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै अर्को सेमिफाइनलमा घरपरिवार भलिबल टिमले प्रथम धवलागिरी क्लब मुडीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । घरपरिवार टिमले २५–२२, २३–२५, २५–१७ र २७–१७ को सेटमा जित हासिल गरेको हो ।

भलिबल प्रतियोगिताको विजेताले ३५ हजार रुपियाँ र उपविजेताले २५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी बास्केटबल प्रतियोगिताको विजेताले २५ हजार रुपियाँ र उपविजेताले १७ हजार रुपियाँ प्राप्त गर्ने विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका मेला संयोजक देविन्द्र भण्डारीले जानकारी दिनुभयो ।

बास्केटबल प्रतियोगिताको फाइनलमा मुडी र मुना पुगेका छन् । भलिबल र बास्केटबल दुवैको फाइनल खेल सोमबार हुने क्लब अध्यक्षले जानकारी दिनुभयो ।