• ७ वैशाख २०८३, सोमबार

स्वयम्भू क्षेत्रबाट तीन जना सडक सहयोगापेक्षीको उद्धार

blog

काठमाडौँको स्वयम्भू क्षेत्रबाट सडक सहयोगापेक्षीहरुको उद्धार गरिँदै । तस्बिर : काठमाडौँ महानगरपालिका

काठमाडौँ, वैशाख ७ गते । काठमाडौँको स्वयम्भू क्षेत्रबाट तीन जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ । यसरी उद्धार भएका व्यक्तिमध्ये ४४ वर्षीया महिलाको ठेगाना खुलेको छैन । उहाँको अवस्था सामान्य छ । ७० वर्षका पुरुषको ठेगाना लमजुङ हो । उहाँको अवस्था पनि सामान्य नै छ । ५५ वर्षका पुरुषको घर नुवाकोट हो । उहाँको हातमा चोट छ ।

काठमाडौँलाई सडक सहयोगापेक्षी मानव मुक्त बनाउने कार्यक्रम अन्तर्गत अहिले काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरी र मानव सेवा आश्रमसँगको सहकार्यमा सडक सेवाअन्तर्गत सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको उद्धार गरिरहेको छ । उद्धार कार्यमा माग्न बसेका कतिपय व्यक्तिहरु भने उद्धारकर्ताको आँखा छलेर दायाँवायाँ लाग्ने गरेका भेटिन्छन् । यसो हुनु भनेको यस्ता व्यक्तिहरु सहयोगापेक्षी होइनन् । उनीहरुले माग्ने कामलाई पेशा बनाएका छन् ।

सार्वजनिक चोक, गल्ली, पार्क, सम्पदा स्थल तथा मानिसहरुको बाक्लो आवतजावत हुने ठाउँमा विभिन्न उमेर समूह, लिङ्ग र अवस्थाका मानिसहरु पैसा मागिरहेको भेटिन्छन् । यसरी पैसा माग्नेहरुलाई मानवोचित व्यवस्थापन गरेर सडकलाई माग्ने व्यक्तिहरु मुक्त बनाउनु उद्धार कार्यबाट प्राप्त गरिने नतिजा हो ।


सडकमा रहेका व्यक्तिहरुको उद्धार गर्नु, स्क्रिनिङ गर्नु र अवस्थाका आधारमा पारिवारिक तथा सामाजिक पुनःस्थापना गर्नु वा आश्रममा आश्रय प्रदान गनु कार्यक्रमका मुख्य क्रियाकलाप हुन् । यसअघि पशुपति क्षेत्रबाट ६ जना, कालीमाटीबाट दुई जना, टेकुबाट एक जनालाई उद्धार गरिसकिएको छ ।