• ७ वैशाख २०८३, सोमबार

रौतहटमा एक महिनामा ११४ सवारी दुर्घटना, तीन जनाको मृत्यु

blog

सञ्जयकुमार मिश्र
गौर, वैशाख ७ गते ।
रौतहट जिल्लाका विभिन्न स्थानमा एक महिनाको अवधिमा ११४ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांक अनुसार गत चैत महिनामा मात्रै जिल्लाका विभिन्न ठाउँमा ११४ वटा सवारी दुर्घटना भएका हुन् । ती दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा १६९ वटा सवारीसाधन संलग्न रहेको, तीन जनाको मृत्यु भएको, १७८ जना घाइते भएको तथा १७८ जनाको प्रहरीद्वारा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद वस्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालकको लापरबाहीका कारण ८७ वटा, सवारी साधनको कारण १ वटा तथा पैदल यात्रीको कारण २६ वटा गरी कुल ११४ वटा दुर्घटना भएका हुन् ।

त्यसैगरी ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने एक हजार ११० जना चालकलाई कारबाही गरी ११ लाख ५३ हजार रुपियाँभन्दा बढी जरिवाना असुल गरिएको पनि उहाँले बताउनुभयो ।

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरीले समय–समयमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै जिल्ला सदरमुकाम गौर–चन्द्रपुर सडक खण्ड, पूर्व–पश्चिम राजमार्ग, गौर–पिपरा सडक खण्डलगायत विभिन्न स्थानमा ट्राफिक चेकजाँच कडाइ गरिएको र नियम उल्लङ्घन गर्ने चालकलाई कानुनअनुसार कारबाही गरिँदै आएको प्रवक्ता वस्यालले जानकारी दिनुभयो ।