हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख ७ गते । मुस्ताङको थासाङ गाउँपालिका घट्टेखोलामा शनिबारदेखि याकनाक (चौरी) को आलो रगत पिउने मेला सुरु भएको छ । हिमालय याकनाक संरक्षण समितिले आयोजना गरेको मेलाको पहिलो दिन छिमेकी जिल्ला म्याग्दी, बागलुङ र पर्वतसहित कास्की, तनहुँ, चितवनलगायतका जिल्लाबाट सर्वसाधारणको भिड लागेको समितिका संयोजक बुद्धिरत्न तुलाचनले बताउनुभयो ।
संयोजक तुलाचनले भन्नुभयो, “पहिलो दिनमै थामिनसक्नु भिड लागेको छ । मेलाको आम्दानी कृषकलाई नै वितरण गरिन्छ ।” एक जना बिरामीले १ देखि १० गिलाससम्म आलो रगत पिउने गरेका छन् । प्रतिगिलासको तीन सय रुपियाँ लिने गरेका छन् । पहिलो दिन करिब दुई सय जनाले याकनाकको आलो रगत पिएका छन् । हरेक वर्ष आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएकाको रोजाइमा परेको मेलामा याकको मासु, नाकको रगतका लागि एक सातासम्म नजिकको होटेलमा बसेरसमेत दैनिक पुग्नेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइको हिमाली खर्कमा चरेका याकनाकले पाँचऔँले, निरमसी, जटामसी, यार्चागुम्बा जस्ता जडीबुटी खाने भएकाले आलो रगत सेवनले गानोगोला, तुस, अपच, हाडजोर्नी, नसासम्बन्धी रोग, यौनउत्तेजना आदि समस्या कम हुने जनविश्वास रहेको छ । आलो रगत पिउँदा विभिन्न रोगका समस्या समाधान हुने भनिए पनि चिकित्सा विज्ञानले भने आलो रगतमा विभिन्न विषाक्त पदार्थका अवशेष हुने भएकाले रगतलाई राम्रोसँग तताएर खाँदा जीवाणुमुक्त हुने र पोषणका लागि पनि राम्रो हुने सुझाव दिने गरेका छन् ।
आलो रगतमा भएका परजीवीले मानव स्वास्थ्यमा पार्न सक्ने असरलाई ध्यानमा राखेर विभिन्न पशुजन्य रोगका विरुद्धमा निःशुल्क खोप लगाउने तथा औषधी वितरण एवं पशु, चौपायाको स्वास्थ्यको परीक्षणसमेत गरिएको छ । थासाङ गाउँपालिकाको चरन क्षेत्रमा २५ गोठमा करिब एक हजार पाँच सयको हाराहारीमा रहेका याकनाकमध्ये मेलामा सात सयको हाराहारीमा ल्याइएको किसानले बताएका छन् । घाँटीमा फलामको सानो र तिखो हतियार (चुलेसी) ले प्वाल पारेर रगत निकाल्ने गरिन्छ । हिमाली भेगमा पाइने, गोरु जस्तो देखिने भाले जनावर याक हो भने गाई जस्तो देखिने शुद्ध नश्लको पोथी नाक हो । याकनाक मेला नै यहाँका चौँरीपालक कृषकको सबैभन्दा राम्रो आम्दानीको स्रोत हो । आलो रगतसँगै मासुको प्रयोजनका लागि याकबाहेक पर्यटकले घिउ, छुर्पी, सजावटका लागि याकको सिङ, पुछर, पित्तसमेत बिक्री गरी एक करोड रुपियाँभन्दा बढीको आम्दानी हुने गरेको बताइन्छ । मेलाको अवलोकनका लागि मात्रै १० हजारभन्दा बढी पर्यटक पुग्ने गरेको आयोजकले अनुमान गरेको छ । मेला वैशाखको दोस्रो सातासम्म सञ्चालन हुन्छ ।