हुम्ला समाचारदाता
हुम्ला, वैशाख ७ गते । बाजुरासँग सिमाना जोडिएको जिल्लाको ताँजाकोट गाउँपालिकाले एक वर्षपछि नुन पाएको छ । नुन ढुवानीको जिम्मा लिएको ढुवानी सप्लायर्सले ढिलो ढुवानी गरेर गाउँपालिका केन्द्रमा पु¥याएपछि गाउँपालिकाका जनप्रतिनिधिसँगको बैठकपछि ताँजाकोटवासीले नुन पाएका हुन् । आर्थिक वर्ष सम्पन्न भएको नौ महिनापछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिको ढुवानी अनुदानको नुन आइपुगेलगत्तै आइतबार बिदाको दिन भए पनि गाउँपालिकावासीलाई बिक्री गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले बताउनुभयो । चालु आवको पहिलो चौमासिक अवधिभित्र ढुवानी हुनुपर्ने कोटाको नुन यतिबेला ताँजाकोट गाउँपालिकामा आएपछि बिक्रीवितरण गरिएको जानकारी उहाँले दिनुभयो ।
यस वर्ष उक्त बिक्री केन्द्रका लागि ४७९ क्विन्टल नुन कोटा निर्धारण गरिएकोमा हालसम्म ४३९ क्विन्टल ढुवानी भएर आइपुगेको छ । यसमा पालिकाको वडा नं. १ लाई ७० क्विन्टल, वडा नं. २ लाई ७० क्विन्टल, वडा नं. ३ लाई ११० क्विन्टल, वडा नं. ४ लाई ९० क्विन्टल र वडा नं. ५ लाई ७० क्विन्टल बिक्री गरिएको छ । प्रहरी चौकी, बजारवासीलाई २१ क्विन्टल नुन बिक्री गरिएको छ । ताँजाकोट गाउँपालिकाको यस वर्ष कोटाको नुनमध्ये ४० क्विन्टल जनसङ्ख्या बढी भएको अदानचुली गाउँपालिकालाई पठाइएको उहाँले बताउनुभयो ।