केशवराज भट्ट
वासुलिङ, बैतडी, चैत १७ गते । सशस्त्र प्रहरी बल नेपाल नं. ७, बैद्यनाथ बाहिनीको २५औँ वार्षिकोत्सवका अवसरमा नं. ५१ गुल्म हे।क्वा। बैतडीले सामाजिक सेवा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ।
वार्षिकोत्सवको अवसरमा गुल्मले सीमावर्ती क्षेत्र तथा धार्मिक स्थलहरूमा सरसफाइ अभियान सञ्चालन गरेको छ, जसले वातावरण संरक्षणमा योगदान पुर्याउँदा समुदायमा सकारात्मक सन्देश पनि प्रवाह भएको बताइएको छ।
गुल्म प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले समुदायसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।
जिल्ला अस्पताल बैतडीमा उपचाररत १५ जना बिरामीलाई फलफूल वितरण गरिएको छ भने अनाथालय तथा छात्रावासमा आश्रित बालबालिकालाई खाजा र फलफूल प्रदान गरी मानवीय सेवामा सक्रियता देखाइएको छ।
सीमा क्षेत्रमा हुने अपराध र लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै, ग्यास सिलिन्डरबाट हुन सक्ने आगलागी नियन्त्रणसम्बन्धी प्रदर्शन गरी सर्वसाधारणलाई सचेत पारिएको छ।
सशस्त्र प्रहरीले जनाएको छ, यस्ता गतिविधिले नागरिकसँगको सम्बन्ध सुदृढ पार्ने र समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।