हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत १७ गते । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मुस्ताङमा २०० भन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै छ। जाडो मौसमका कारण अन्य जिल्लामा सम्पन्न नभएको खोप अभियान, गर्मी मौसमको सुरुवातसँगै विद्यालय खुल्ने बित्तिकै मुस्ताङका पाँचवटै गाउँपालिकाका विद्यालयमा पुगेर सञ्चालन गरिएको छ।
विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरी र आर्थिक वर्ष २०८१/८२ मा खोप लगाउन छुटेका विद्यालय बाहिरका ११–१४ वर्ष उमेर समूहका २०१ जना किशोरीलाई पनि खोप लगाइने योजना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङकी फोकल पर्सन सम्झना बुढाले बताउनुभयो।
खोप अभियानका लागि स्थानीय तहका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम र प्रचार–प्रसार समेत गरिएको छ। घरपझोङ गाउँपालिकामा ८१, लो–घेकर दामोदर कुण्ड गाउँपालिकामा ४१, थासाङ गाउँपालिकामा ४०, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २७ र लोमन्थाङ गाउँपालिकामा १२ जना किशोरीलाई खोप लगाइने छ।
तल्लो मुस्ताङका तीन पालिकामा खोप अभियान चैत १७ देखि १९ गतेसम्म सञ्चालन हुने छ भने उपल्लो मुस्ताङमा विद्यालय छुट्टी भएकाले चैत्र २४ देखि २८ गतेसम्म कार्यक्रम सञ्चालन गरिने छ।
किशोरीलाई खोप अभियान सकिए पनि, गाउँपालिकाले द्रुत अनुगमन टोली परिचालन गरी सम्भावित छुटेका वा अन्य जिल्लामा पुगेका किशोरीहरूलाई पनि खोजेर खोप लगाउने काम गरिरहेको छ। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिं लालचनले भन्नुभयो, “कोही पनि किशोरी नछुटोस् र दोहोरिन नपरोस् भन्ने उद्देश्यले छुटेकाहरूको समेत खोप लगाइँदैछ। मजदुरीका लागि आउने किशोरीहरूको तथ्याङ्क पनि सङ्कलन गरिएको छ।”
सुरुमा १०–१४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउनु बढी प्रभावकारी मानिन्छ। चिकित्सकहरूले ३० वर्षमाथिका महिलालाई पाँच–पाँच वर्षमा र एचआइभी सङ्क्रमित महिलालाई हरेक तीन वर्षमा पाठेघरको मुखको नियमित जाँच गराउन सिफारिस गरेका छन्।